२ पुस २०८२, बुधबार

सेयर बजार एक महिनामा ७०० अंकले उकालो लाग्दा लगानीकर्ताको सम्पत्ति ११ खर्ब १६ अर्बले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजार उकालो लाग्दा लगानीकर्ताको सम्पत्ति पनि बढेको छ । वितेको एक महिनाको अवधिमा सेयर बजार ७०० अंकले बढ्दा लगानीकर्ताको सम्पत्ति पनि ११ खर्ब १६ अर्ब ५९ करोड १० लाख रुपैयाँले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असार ३० गते यता बजार ७००.१६ अंकले बढेको छ । असार ३० गते नेप्से परिसूचक २२५७.५९ बिन्दुमा रहेको थियो । आज बुधबार (साउन ३० गते) बजार ७००.१६ अंकले बढेर परिसूचक २९५७.७५ बिन्दुमा पुगेको छ ।

यो एक महिनाको अवधिमा २३ दिन सेयर कारोबार भएको छ । जसमध्ये ६ कारोबार दिन बजार घटेको छ भने बाँकी सबै दिन सेयर बजार बढेको छ । निरन्तर बढेको बजार एक महिनामा साढे २९ सय बिन्दु पार गरेको हो ।

गएको एक महिनाको अवधिमा बजारले नयाँ नयाँ रेकर्ड पनि राख्दै गएको छ । कारोबार रकममा बजारले नयाँ रेकर्ड राखेको छ । साउन २८ गते २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँको सेयर कारोबार भएको थियो । तर अहिले भने नेप्सेले वेवसाइटमा २६ अर्ब ८० करोड ९० लाख ३१ हजार १९२ रुपैयाँको कारोबार भएको देखाएको छ । यो पनि हालसम्मकै धेरै कारोबार रकम हो ।

यसरी बजारले लगातार रेकर्ड बनाउँदा लगानीकर्ताको सम्पत्ति पनि निरन्तर बढिरहेको छ ।

असार ३० गते बजार पुँजीकरण ३५ खर्ब ८० अर्ब ९३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा यो ११ खर्ब १६ अर्ब ५९ करोड १० लाख रुपैयाँले बढेर बुधबारसम्म आइपुग्दा ४६ खर्ब ९७ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

अहिले बनेको नयाँ सरकार र अर्थमन्त्री बिष्णु पौडेल बनेपछि सेयर बजारमा निरन्तर उछाल आएको लगनीकर्ताको भनाइ छ । सेयर बजारले मन्त्री पौडेललाई रुचाउँदै आएको छ । यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको लचिलो मौद्रिक नीतिले पनि बजार बढेको लगानीकर्ता बताउँछन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा ‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ ।

मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिनेछ’ भन्ने व्यवस्था गरेको छ । यसले पनि बजार बढेको लगानीकर्ताहरु भन्छन् ।
अहिले बैंकमा अधिक तरलता रहेको र बैंकहरुले सेयर धितोमा धमाधम कर्जा दिन थालेका कारण बजार बढ्न थालेको पनि लगानीकर्ताहरु बताउँछन् ।

त्यसबाहेक पनि केहि सहकारीले थोरै भए पनि वचतकर्ताको पैसा फिर्ता गरिरहेका छन् । त्यो पैसा पनि सेयर बजारमा आएको लगानीकर्ताहरु बताउँछन् ।