असोजदेखि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने, सञ्चालन गर्न विदेशी कम्पनी ल्याइने « Eglish Khabarhub

असोजदेखि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने, सञ्चालन गर्न विदेशी कम्पनी ल्याइने



काठमाडौं । सरकार सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि विदेशी कम्पनी ल्याउने तयारी गरेको छ ।

सुरूङमार्ग सञ्चालन गर्ने बिषयमा नेपालसँग कुनै अनुभव नभएकाले सरकारले यो सुरूङमार्ग सञ्चालनको लागि विदेशी कम्पनी भित्र्याउने तयारी गरेको हो ।

सडक विभागले देशकै पहिलो यो सुरूङमार्ग आयोजनाको सम्पूर्ण काम आगामी असोज महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

‘सुरूङमार्ग सम्पन्न गरेसँगै यसको सुरक्षाका विषय, ट्राफिक व्यवस्थापन, अग्नि नियन्त्रण, सुरूङमार्ग प्रयोगकर्ताबाट उठाउने टोल (शुल्क), मर्मतसम्भारजस्ता गम्भिर बिषयलाई एकैसाथ व्यवस्थापन गर्नुपर्छ । यसका लागि सडक विभागसँग अनुभव छैन,’ आयोजनाका एक अधिकारीले भने, ‘त्यसकारण यो सुरूङमार्ग सञ्चालनका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर अनुभवी विदेशी कम्पनी ल्याउने तयारी गरेका छौं ।’

ति अधिकारीका अनुसार ठेक्का प्रक्रियाबाट योग्य कम्पनीलाई सञ्चालनको जिम्मा दिने तयारी गरिएको छ । त्यस्तो कम्पनीले सुरूङमार्ग सञ्चालन र मर्मत दुवैथरी काम गर्नेछ ।

उक्त कम्पनीको कामलाई अनुगमन, नियमन र गुणस्तर परीक्षण गर्ने परामर्शदाता कम्पनीले नै कति टोल शुल्क लिने, मर्मतसम्भारलगायत सञ्चालनका लागि सुझाव दिने भएकाले छुट्टै परामर्शदाता नियुक्त गर्न नपर्ने विभागका अधिकारीले बताए ।

नियमन, अनुगमन तथा गुणस्तर परीक्षणको काम हालको परामर्शदाताले नै गर्नेछ । परामर्शदाताका रूपमा नेपाली कम्पनी पनि संलग्न छ ।

मुख्य सुरूङ छेडिसकेको यो आयोजनामा अहिले सुरूङभित्र ‘फिनिसिङ’ को काम भइरहेको छ । यो सुरुङ मार्गको कूल लम्बाई २ हजार ६ सय ८८ मिटर छ ।

दुई लेनको उक्त सुरूङमार्गभित्रको सडक ढलान (कंक्रिट सडक) हुने आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) गोविन्द दुमरूले जानकारी दिए ।

उनका अनुसार हाल आयोजनामा लाइटिङ, आगलागी भए नियन्त्रण गर्ने, कालोपत्रे (ढलान) जस्ता काम भइरहेको छ । त्यस्तै सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने उपकरण जडान, रेस्क्यु सेन्टर निर्माण, कन्ट्रोल सिस्टम जडान, टेलिफोन जडान, लाइट जडान, तापक्रम मिलाउने उपकरण जडानलगायतका दर्जनौं प्राविधिक काम धमाधम भइरहेको छ ।

दुवैतर्फको टनेल अपरेशनल बिल्डिङ्ग नजिकै टोलगेट निर्माण हुनेछ । टोलगेटसँगै २४ सैं घन्टा सुरक्षाकर्मी, आपतकालीन समयको लागि प्राथमिक चिकित्सकको टोली, एम्बुलेन्स, टनेल प्रविधिसम्बन्धी प्राविधिक कर्मचारीलगायतको उपस्थिति रहनेछ ।

मुख्य सुरुङमार्ग भित्र भने ६० किलोमिटरको गतिमा मात्रै सबारी साधन गुडाउन पाइनेछ । यो सुरुङमार्ग पार गर्न ३ मिनेटको समय लाग्नेछ ।

सुरूङमार्गबाट आवतजावत गर्ने सवारीसाधनबाट उठाउने शुल्क पनि निर्धारण गर्नुपर्ने हुन्छ । यसका लागि कार्यविधि तयार पार्ने काम पनि सुरु भएको छ ।

‘सुरूङमार्ग सञ्चालनको कार्यविधि बनाउनुका अतिरिक्त टोल कति हुन्छ र कसले उठाउने भन्ने विषयमा कार्यविधि बनाउने क्रममा छौं,’ दुमरूले भने ।

यो आयोजना ४२ महीनामा सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । सुरूङमार्गको मुख्य सुरूङ २०८१ वैशाख ३ गते छिचोलिएको थियो । उक्त सुरूङ सन् २०२३ को अप्रिलमा सम्पन्न गर्ने गरी जापानको हाजमा एण्डो कर्पोरेशनसँग सम्झौता भएको थियो ।

कोरोना महामारी र स्थानीयको विवादले पटकपटक सुरूङमार्ग निर्माण अवरुद्ध भएपछि म्याद थपिएको थियो । थप भएको म्याद अनुसार सम्पन्न गर्नुपर्ने २०२५ अक्टोबरसम्म तोकिएको छ ।

नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच यो सुरूङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो । त्यसअनुसार उक्त ऋण तिर्ने अवधि ४० वर्षको हुनेछ ।

नेपालले जाइकाबाट १६ अर्ब रुपैयाँ बराबर ऋण लिएको छ । यो परियोजनामा नेपाल सरकारले ६ अर्ब रुपैयाँ बेहोर्नेछ । यो सुरूङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ छ ।

सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको गत् बैशाख ३ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रेक थ्रु गरेका थिए ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ कात्तिकमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु गरिएको थियो ।

गत् आर्थिक बर्षसम्म आयोजनाको समग्र भौतिक प्रगति ७२.१९ र वित्तीय प्रगति ७७.६२ प्रतिशत हासिल गरेको छ ।

सुरुङमार्ग प्रयोग गर्न पैसा तिर्नुपर्ने, दुई पांग्रेलाई प्रवेश निषेध

आयोजनाका अनुसार सर्वसाधारणले मुख्य सुरुङमार्ग निःशुल्क रुपमा प्रयोग गर्न भने पाउने छैनन् ।

काठमाडौं तराई द्रुतमार्ग प्रयोग गरेवापत सर्वसाधारणले केहि शुल्क तिर्नुपर्ने मोडालिटीजस्तै यो सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले भने केहि शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

सुरुङमार्गबाट यात्रुवाहक, सामान्य तौलको ट्रक, कार र जीप मात्रै यो सुरुङमार्गमा प्रवेश गर्न पाउनेछ । त्यो पनि सिस्नेखोला र चन्द्रागिरीतर्फको मुखमा निर्माण हुने टोलगेटले सवारी साधनको तौल र उचाँई परीक्षण गरेर तोकिएको निश्चित तौल र उचाँईको आधारमा मात्रै प्रवेश गर्न पाउनेछन् ।

सोहि तौल र उचाइको आधारमा शुल्क निर्धारण गरिनेछ । यो सुरुङमार्गमा पेट्रोल, डिजेल र ग्यास बोकेको ट्याँकर र बुलेट, दुई पाँग्रे सवारी साधनलाई भने प्रवेश गर्न नदिने गरि प्रवेश निषेधको व्यवस्था हुनेछ ।

Publish on: