मारुती सिमेन्टले ९ महिनामा गर्‍यो ३ अर्ब २२ करोडको कारोबार, व्यापार घट्दो « Eglish Khabarhub

मारुती सिमेन्टले ९ महिनामा गर्‍यो ३ अर्ब २२ करोडको कारोबार, व्यापार घट्दो



काठमाडौं । मारुती सिमेन्टको व्यापार घट्दो अवस्थामा देखिएको छ । सन् २०२१ यता मारुती सिमेन्टको व्यापारमा निरन्तर गिरावट आएको हो । सन् २०२४ को सुरुवाती ९ महिनामा पनि कम्पनीको व्यापार गत वर्षको तुलनामा उत्साहजनक देखिएको छैन ।

सन् २०२१ मा मारुती सिमेन्टको व्यापार ६ अर्ब ९० करोड ८० लाख रुपैयाँको थियो । सन् २०२२ मा यो कम्पनीले ५ अर्ब ५ करोडको व्यापार गरेको थियो । त्यस्तै सन् २०२३ मा यो कम्पनीले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२४ अर्थात चालु वर्षमा पनि यो कम्पनीले व्यापारमा उत्साहजनक अवस्था देखिएको छैन । सन् २०२४ को पहिलो ९ महिनामा यो कम्पनीले करिब ३ अर्ब २३ करोडको व्यापार गरेको छ । कम्पनीले ९ महिनामा ३ अर्ब २२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीको व्यापारमा गिरावट आइरहँदा कम्पनीको मार्जिनमा पनि गिरावट देखिएको छ । सन् २०२१ मा यो कम्पनीको मार्जिन २२ प्रतिशत थियो । सन् २०२२ मा १२.२७ मा सीमित भएको यसको मार्जिन सन् २०२३ मा ९.३३ प्रतिशत पुगेको थियो । सन् २०२४ मा पहिलो ९ महिनामा यसको मार्जिन ६.१० प्रतिशतमा सीमित भएको थियो ।

कम्पनीको व्यापारमा कमी आउनुको कारण विदेशी मुद्रा सटहीमा हुने उतारचढावका साथै प्रतिस्पर्धि सिमेन्ट बजार नेपाल विद्युत प्राधिकरणले दाबी गरेको ट्रंकलाइनको महसुल तथा विद्युत आपुर्तिको समस्या रहेको रेटिङ कम्पनी केयर रेटिङले जनाएको छ । केयरकाअनुसार नेपाल विद्युत प्राधिकरणले सन् २०१६ अप्रिलदेखि सन् २०१८ को अप्रिलसम्म प्रयोग भएको दाबी गर्दै डेडिकेटेड ट्रंक लाइनका लागि महसुल दाबी गर्दै विभिन्न उद्योगको विद्युत आपूर्ति काटेको छ ।

सन् १९९४ मा सुरु भएको मारती सिमेन्ट लिमिटेड नेपालको ठूलोमध्येको एक सिमेन्ट उत्पादक कम्पनी हो । सन् २००५ मा हालको व्यवस्थापनले स्वामित्व बहन सुरु गरेको यो कम्पनी राठी ग्रुप र गोयल ग्रुपको संयुक्त स्वामित्वमा रहेको छ । हाल यो कम्पनीमा दैनिक रुपमा १५ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने क्षमता र दैनिक रुपमा २ हजार मेट्रिक टन ग्राइन्डिङ क्षमता रहेको छ । कम्पनीको उत्पादन क्षमता सिराहा जिल्लाको मिर्चैया क्षेत्रमा रहेको छ ।

हालका लागि कम्पनीले दीर्घकालीन कर्जा क्षमतामा ४ अर्ब १३ करोड र अल्पकालीन कर्जा क्षमताका लागि २ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ गरि कुल ६ अर्ब ७२ करोड ३१ लाख रुपैयाँको कर्जा क्षमताका लागि रेटिङ गराएको छ । केयर रेटिङले कम्पनीलाई दीर्घकालीन कर्जा सुविधाका लागि त्रिपल बि र अल्पकालीन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ ।

Publish on: