
काठमाडौं । लाजिम्पाटमा पाँचतारे होटल दुसित प्रिन्सेस सञ्चालन गरिरहेको पालजोर ग्लोबल कर्पले दुसित इन्टरनेसनलको दक्षिण एसियाको रणनीतिक साझेदार गर्ने गरी सहमति गरेको छ ।
दक्षिण एसियाली मुलुकमा दुसित इन्टरनेसनलको सम्भावना अध्ययन, विस्तारसँगै हस्पिटालीटी एजुकेसनमासमेत सहकार्य गर्ने गरी रणनीतिक साझेदारको रुपमा थाई ब्रान्डलाई नेपाल भित्र्याइएको पालजोर समूहका अध्यक्ष दोर्जे ग्यालजेन लामाले सामाजिक सञ्जालमार्फत साझेदारी भएको जानकारी दिएका छन् ।
दुसितको आतिथ्यता, शिक्षाका लागि अवसर अन्वेषण, विद्यार्थी र समुदायको जीवनस्तर वृद्धि गर्न सहयोग गर्दै नेपालको विकासमा दिगोपनकै नयाँ मापदण्ड स्थापित गर्ने गरी उक्त सहकार्य भएको पनि लामाको भनाइ छ ।
दुसित इन्टरनेसनलका प्रमुख अपरेटिङ अफिसर गिल्स क्रेटालाजले रणनीतिक साझेदारीले दक्षिण एसियामा दुसितको प्रतिबद्धता र आतिथ्य उद्योगमा वृद्धिलाई अगाडि बढाउन बलियो स्थानीय साझेदारीको लाभ उठाउने क्षमतालाई बढाउन लागि पर्ने बताए ।
पालजोर ग्लोबल कर्पजस्ता विश्वसनीय साझेदारसँग सामेल भएर स्थानीय बजारसँग मिल्ने, यस क्षेत्रको आर्थिक विकासमा योगदान गर्ने असाधारण आतिथ्य अनुभव उपलब्ध गराउने, खाद्य उत्पादन बजारमा ल्याई दिगो रूपमा उद्योगको आवश्यकता पूरा गर्नेसमेतको प्रतिबद्धता उनीहरूले जनाएका छन्।
पालजोर ग्लोबलकी प्रबन्ध निर्देशक डोल्मा छिरीङ लामाले दुसित एजुकेसन र दुसित फुड्स विस्तारमार्फत दक्षिण एसियाली क्षेत्रमा विशेष प्रभाव पर्ने बताइन्।
सम्झौतासँगै मुलुकमा दुसित थानी, दुसित डिट,लाइफस्टायल, मिडस्केल, दुसित प्रिन्सेस, दुसित सुइट्स, असाइ होटल्स, देवराना, दुसित रिट्रिट, दुसित बेस्कोप लक्जरीलगायत ब्राण्ड विस्तारको योजना रहेको उनले जानकारी दिइन्।
पालजोरले बंगलादेश, म्यानमार, श्रीलंका, तिब्बत, भुटान र उत्तरी भारतमा विस्तार गर्ने योजना रहेकोजानकारी दिएको छ ।
दुसित इन्टरनेसनअन्तर्गत नेपालमा लाजिम्पाटमा दुसित प्रिन्सेस र धुलिखेलमा दुसित थानीको व्यवस्थापन भइरहेको छ भने विश्वभर ३०० होटल सञ्चालित छन। विश्वभर १८ मुलुकमा दुसितको ८ वटा ब्राण्ड सञ्चालित छन्।