काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केही राजनीतिक दलले कमाइखाने भाडोको रुपमा लिएका छन् । चुनाव लोकतन्त्रको सर्वोत्तम विकल्प हो तर यही विकल्पलाई अनावश्यक रुपमा प्रयोग गर्दै त्यसलाई नै चन्दा उठाउने भाँडो बनाउने काममा पछिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री कमल थापा लागि परेका छन् ।
निर्वाचनको मुखमा नै उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्रीको जिम्मेवारी पाएका थापाले अधिकाशं ऊर्जा उद्यमीलाई पत्र पठाएर चन्दा दिन आग्रह गरेका छन् । उनले सञ्चालनमा रहेका, निर्माणका क्रममा रहेका र निर्माणमा जाने तयारीका रहेका अधिकाशं आयोजनाका प्रवद्र्धकलाई पत्र काटेर नै चन्दा दिन भनेका छन् ।
एक ऊर्जा उद्यमीलाई पठाएको पत्र क्लिमाण्डुले प्राप्त गरेको छ । । थापाले लेखेको पत्रको शिर्षक नै आर्थिक सहयोग सम्बन्धमा रहेको छ । उनले आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सफल बनाउन समेत चन्दा आवश्यक रहेको उल्लेख गरेका छन् ।
विश्वभरका हिन्दुको पहिचान र प्रतिकको रुपमा रहेको नेपाललाई हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र कायम गर्ने प्रमुख मुद्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको लक्ष्य रहेको उक्त पत्रमा भनिएको छ ।
कमल थापाले सहयोगका लागि बैंक खाता वा नगदि रसिद उपलब्ध गराउन पार्टी कोषाध्यक्ष एवम् आर्थिक समितिका संयोजक उद्धव पौडेल , आर्थिक समितिका सदस्य सचिव मनोजकुमार ढुंगेलको फोन नम्बर समेत दिएका छन् ।
थापाले ऊर्जा उद्यमीलाई पठाएको पत्रमा समृद्ध नेपाल निर्माणका लागि गाई चिन्हमा मतदानको नारा लिएर सबै नेपालीको घर आँगनमा उपस्थित भएको छ । यस अभियानलाई सफल तुल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी सबै नेपाली दाजुभाई दिदिबहिनीमा हार्दिक अपिल गर्दछ । यस अपिलसँगै पार्टीले यथासक्य आर्थिक सहयोगको अपेक्षा राखेको व्यहोरा निवेदन गर्न चाहन्छौ भन्ने उल्लेख छ ।
ऊर्जा मन्त्रालयमा बसेर सरकारी तथ्यांकको दुरुपयोग गर्दै कमल थापाले ऊर्जा उद्यमी सबैलाई फोन समेत गरेका छन् । चन्दा लिएर आउन उनले ऊर्जा उद्यमी सबैलाई पत्र पठाएको बताइन्छ ।
सरकारको आधिकारिक तथ्यांक नै दुरुपयोग गरेर चुनावको नाममा ऊर्जा उद्यमीलाई तनाव दिन सरकार नै लागेको भन्दै ऊर्जा उद्यमीले आक्रोश व्यक्त गरेका छन् ।
कमल थापाले सहयोगका लागि बैंक खाता वा नगदि रसिद उपलब्ध गराउन पार्टी कोषाध्यक्ष एवम् आर्थिक समितिका संयोजक उद्धव पौडेल , आर्थिक समितिका सदस्य सचिव मनोजकुमार ढुंगेलको फोन नम्बर समेत दिएका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक धुम्बाराही शाखामा राप्रपाको नाममा रहेको खाता नम्बर समेत उपलब्ध गराएका छन् ।
एक ऊर्जा उद्यमीकाअनुसार सिंहदरबार भित्र रहेको ऊर्जा मन्त्रालयको फोनबाट राप्रपाका कार्यकर्ताले दैनिक जसो फोन गरेर ऊर्जा उद्यमीलाई तत्काल चन्दा लिएर आउन समेत दबाव दिएका छन् ।
SHARE YOUR THOUGHTS