शुक्रबारदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द, अन्तर्राष्ट्रियसँगै आन्तरिकको ३०% उडान कटौती


काठमाडौं । आगामी शुक्रबार (२३ कात्तिक)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । यो विमानस्थलन स्तरोन्नतिका क्रममा ट्याक्सीवे विस्तार गर्न दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएको छ ।

विमानस्थल दैनिक १० घण्टा बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नती गर्ने भएको हो । शुक्रबारबाट करिब ५ महिनासम्म विमानस्थल विस्तार हुने भएकोले यो अवधिमा हाल उडान गरिरहेको आन्तरिक वायुेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती हुने भएको छन् ।

यो अवधिमा अन्तर्राष्ट्रिय उडानसमेत कटौती हुँदै छन् । प्राधिकरणले विमानस्थलको मर्मतका क्रममा वायुसेवा कम्पनीहरुलाई पोखरा र भैरहवा विमानस्थलबाट उडान गर्न आग्रह गरेको छ ।

शुक्रबारबाट विमानस्थल राति १० बजे बन्द हुने हुँदा सो भन्दा १५ मिनेट अगाडि नै यात्रुलाई चेकइन गरिसक्न पनि आन्तरिक वायुसेवा कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले बताएको छ ।

संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेरै भनेको छ ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले यही आउँदो मिति २०८१ कार्तिक २३ गते देखि करिब ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न लागेका कारण साविकको उडान समय घटाई बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न ‘नोटिस टु एयर म्यान (नोटाम) जारी गरिएको छ।’

विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायुसेवा कम्पनीहरुको करिब ३० प्रतिशत उडान समेत कटौती हुने भए पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा यो संघ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माण पश्चात सदस्य वायुसेवा कम्पनीहरु तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुका जहाज आउजाउ तथा ट्राफिकमा समेत दीर्घकालीन रुपमा सहज, सरल तथा सुविधा हुने विश्वास वायुसेवा सञ्चालक संघको छ ।

विमानस्थल स्तोरोन्नतिको काम जाडो महिनामा हुने भएकोले अधिकाशं विमानस्थलहरुमा हुस्सु तथा कम भिजिविलिटिका कारण नियमित उडान प्रभावित हुने, उडान हुने विमानस्थलहरुमा रात्रि उडान भए पनि १० बजेभित्र सम्पन्न गरि सक्नु पर्ने, सदस्य वायुसेवा कम्पनीहरुका चेक ईन काउण्टर उडान समयभन्दा करिब १५ मिनेट अगाडि नै बन्द हुने भएकोले यात्रुले वायुसेवा कम्पनीहरुले जारी गरेको टिकटमा उल्लेखित समयमा नै चेक ईन काउण्टरमा रिपोर्टिङ गरिदिनु हुनका लागि समेत यो संघले यात्रुहरुलाई अनुरोध गरेको छ ।

संघका सदस्य वायुसेवा कम्पनी (हेलिकप्टर) हरुले भिएफआर उडान अन्तर्गत नलिञ्चोक हेलिप्याडबाट सूर्योदयदेखि सूर्यास्तसम्म नै हेलिकप्टर उडान तथा अवतरण हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ८ बजे देखि उडान तथा अवतरण हुने भएकोले सम्बन्धित सरोकारवाला सबैलाई सोही अनुसार गर्न गराउन हुन यो संघ हार्दिक अपिल गरेको छ ।

संघले नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग तथा समानन्तर ट्याक्सी वे वीचको लिकंरोड निर्माण कार्य तोकिएको समय यही आउँदो मिति २०८१ चैत्र १८ गते सम्ममा नै सम्पन्न गर्ने छ भन्ने विश्वाससमेत लिएको छ ।

सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माण कार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनीहरु अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नु पर्ने अवस्था सृजना हुन जाने भएकोले पनि तोकिएको समयमा ट्याक्सी वे बीचको लिंकरोड निर्माण गर्न पनि वायुसेवा सञ्चालक संघले अपिल गरेको छ ।