ज्योति समूहको पारिवारिक किचलोमा ग्रान्डी सिटी अस्पताल: ४ करोड ३६ लाख भाडा तिरिसकेको दाबी « Eglish Khabarhub

ज्योति समूहको पारिवारिक किचलोमा ग्रान्डी सिटी अस्पताल: ४ करोड ३६ लाख भाडा तिरिसकेको दाबी



काठमाडौं । ज्योति समूहले सञ्चालन गरेको ग्रान्डी सिटी अस्पतालले ज्योति समूहकै सदस्य अर्थात मणिहर्ष ज्योतिका जेठा छोरा पद्म ज्योतिलाई करिब साढे ४ करोड रुपैयाँ भाडा तिरिसकेको बताएको छ । मासिक १ लाख ८० हजार रुपैयाँ तिर्नुपर्नेमा अस्पतालले करिब २० वर्षको भाडा तिरिसकेको दाबी गरेको हो ।

मासिक १ लाख ८० हजारको दरले अस्पतालले पद्मज्योतिलाई वार्षिक २१ लाख ६० हजार तिर्नुपर्छ । विभिन्न समय कुल ४ करोड ३६ लाख २३ हजार ७ सय ५० रुपैयाँ भाडा तिर्नुको अर्थ अस्पतालले पद्म ज्योतिलाई आजको मितिबाट थप १० वर्षलाई पुग्ने बहाल रकम तिरिसकेको दाबी गरेको छ ।

अस्पतालमा तालाबन्दीको समाचार प्रसारित भए पनि अस्पताल निर्वाध रूपमा संचालन भइरहेको दाबी गरेको छ । ज्योति समूहको यस हस्पिटललाई खाली गराउन ज्योति समूह (पद्म ज्योति) को तर्फबाट भनी विज्ञप्ति प्रकाशित गरिएको प्रति अस्पतालले गम्भीर ध्यानाकर्षण भएको पनि बताइएको छ ।

मासिक १ लाख ८० हजार रुपैयाँ बहाल बुझाउने गरी पद्म ज्योतिको घर ज्योति समूहकै हस्पिटलले बहालमा लिएपछि पद्म ज्योतिले उपलब्ध गराएको बैंक खातामा हस्पिटलले पटक–पटक गरि सो रकम तिरेको बताएको छ ।

पद्म ज्योतिको बहालमा लिइएको क्षेत्रमा यस हस्पिटलको एकदमै महत्वपूर्ण विभाग राखिएको छ । आईसीयू, एनआईसीयू, सीसीयू र एचसीयू जस्ता कक्ष पद्म ज्योतिकै सहमति तथा प्रोत्साहनमा नै राखिएको अस्पतालको दाबी छ ।

बहालमा बसेकोलाई घरधनीले हटाउन सक्ने कानूनी अधिकार भए पनि आफ्नै ज्योति समूह अन्तर्गतको अस्पताल बहालकै कारण बन्द नै गराउने नियतले गतिबिधि गर्नु अमानवीय तथा अनैतिक कार्य रहेको अस्पतालको भनाइ छ ।

हस्पिटललाई हटाउनु पर्ने अन्य कुनै कारण भए सो को समाधान गर्न सकिने भएता पनि त्यस्तो कुनै कारण नबताइएको तर्क अस्पतालको छ ।

डोर खटाई जबरजस्ती अस्पतालको उक्त भाग खाली गराउने कार्य गरेको खण्डमा बिरामीहरु (बृद्ध, गर्भवती महिला तथा नवजात शिशुहरु समेत) को स्वास्थ्य उपचारमा गम्भीर नकारात्मक असर पर्ने, उनीहरुको जिउज्यानमा खतरा हुने, अस्पतालमा जडान गरिएका उपकरण तथा पुर्वाधारहरु तहसनहस हुने र ज्योति समूहको यस हस्पिटललाई भारी हानी नोक्सानी समेत हुने अवस्था भएकोले अस्पताल सुचारु रुपले संचालनमा कुनै बाधा नपुग्ने गरी तथा बिरामीहरुलाई दिई आएको स्वास्थ्य उपचार सेवा निरन्तर राख्दै उचित रुपले स्थानान्तरण गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि अस्पतालले अनुरोध गरेको छ ।

जम्मा गरेको बहाल पनि प्राप्त नभएको भन्दै पद्मज्योतिले झुट फैलाएको दाबी अस्पतालले गरेको छ । अस्पतालले बहार कर ४३ लाख ६२ हजार ३ सय ७५ रुपैयाँ बुझाएको र भौचरसमेत घरधनीलाई बुझाएको बताएको छ ।

ज्योति समूहको यो विवाद २ साताअघि छताछुल्ल भएको थियो । कात्तिक ११ गते आइतबार मिडियामा एड्भोटोरियल नै छापेर आएको विवादलाई थप छताछुल्ल बनाइएको हो ।

जमलस्थित ज्योति भवनमा ग्रान्डी सिटी क्लिनिक चलाइरहेको रुपज्योति समूहले अदालतको फैसलाबमोजित घर खाली नगराएको र युट्युब च्यानलहरु लगाएर आफूहरुमाथि लान्छना लगाएको भन्दै पद्मज्योति समूहले आपत्ति जनाएको थियो ।

ठूलो बिरासत बोकेको ज्योति समूह पारिवारिक किचलोका कारण बदनाम मात्रै भएको छैन, व्यवसायमा पनि निकै पछाडि परेको छ । मणिहर्ष ज्योतिका छोरा र नातिहरुको तमासाले उनले बनाएको विरासतमा गम्भीर धक्का लागेको छ ।

मणिहर्षका छोरा नातिहरु पछिल्ला केही वर्षदेखि एकअर्काविरुद्ध कहिले प्रहरी गुहार्छन् त कहिले प्रसासन । कहिले स्थानीय सरकार गुहार्छन् त कहिले अदालत । आफ्नो पारिवारिक झगडा मिलाउन नसक्दा मणिहर्षको इज्जजतमा टिकेको ज्योति ग्रुपको व्यापार र सम्ममान दुबै माटोमा मिल्ने दिशामा अघि बढेको छ ।

पद्मज्योति र रुपज्योति सहोदर दाजुभाइ हुन् । सम्पूर्ण अस्पतालको जम्मा १० देखि १५ प्रतिशत भाग पद्य ज्योतिको घर तथा फ्ल्याटमा छ । बाँकी ८५ देखि ९० प्रतिशत अस्पताल रुपज्योतिकै घरमा रहेको छ ।

पद्मज्योतिले विगत ७ वर्षदेखि आफ्नो घर तथा फ्ल्याट आफैँले प्रयोग गर्न नपाएको र करोडौं रुपैयाँ भाडा पनि नपाएकाले पिडा रहेको बताएका थिए ।

Publish on: