एमालेलाई जग्गादान दिएको विरुद्धको रिट ‘हेर्न नमिल्ने’ « Eglish Khabarhub

एमालेलाई जग्गादान दिएको विरुद्धको रिट ‘हेर्न नमिल्ने’



काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङले सत्ताको नेतृत्व गरिएको दल नेकपा एमालेलाई पार्टी कार्यालयका लागि जग्गा दान गरेकोविरूद्ध सर्वोच्चमा दायर रिट हेर्न नमिल्नेमा राखिएको छ।

रिटको सुनुवाइ सोमबार सर्वोच्चका अदालतका न्यायाधीशहरू न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको थियो । तर पेसी उक्त इजलासले हेर्न नमिल्नेमा राखेको छ ।

यसअघि कात्तिक ८ गते पनि रिट सुवेदीको इजलासमा परेको थियो । त्यतिबेला पनि हेर्न नमिल्ने भन्दै पेशी स्थगित गरिएको थियो ।

यसअघि रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

इजलासले दुबै पक्षको बहस/छलफल सुनेर अर्को आदेश नहुन्जेल सम्मका लागि एमाले कार्यालय बनाउन दिएको १० रोपनी जग्गा दानको हक हस्तान्‍तरण नगर्न/ नगराउन आदेश दिएको थियो ।

व्यवसायी गुरूङबाट एमालेले चन्दा स्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए ।

व्यवसायी मीनबहादुर गुरूङ दम्पत्तिले १० रोपनी १४ आना जग्गा प्रधानमन्त्रीको दल नेकपा एमालेलाई दानमा दिएका थिए ।

Publish on: