
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा टिकटक नेपालमा सुरक्षित र प्रभावकारी सामाजिक सञ्जालको पक्षमा रहेको बताएका छन् ।
टिकटकसँग सहकार्यको सुखद सुरुवात भइसकेको भन्दै यसले प्रभावकारी रुपमा निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको मन्त्री गुरुङले बताए ।
यस्तै नेपाल मात्रै नभएर विश्वभर नै सामाजिक सञ्जालले देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको स्मरण गर्दै नेपालमा पनि सामाजिक सञ्जालको सकारात्मक भूमिका अपेक्षा गरिएको उनले बताएका थिए ।
काठमाडौंमा आयोजित डिजिटल सेफ्टी समिट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । यस क्रममा मन्त्री गुरुङले नेपाललाई विश्वमै सूचना प्रविधिको हबको रुपमा विकास गर्दै यस क्षेत्रबाट ५ लाख प्रत्यक्ष र १० लाखभन्दा धेरै अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताए ।
‘नेपाल सरकारले आगामी दशकलाई आईटी दशकको रुपमा घोषणा गरिसकेको छ भने नेपाललाई विश्वमै सूचना प्रविधिको हबको रुपमा विकास गर्ने साथै ५ लाख प्रत्यक्ष र १० लाखभन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य समेत लिएको छ,’ मन्त्री गुरुङले भने ।
नेपालमा धेरै सामाजिक सञ्जालहरु सञ्चालनमा रहेको जनाउँदै उनले नेपाल सरकार सुरक्षित रुपमा सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको बताए ।
साथै सूचना प्रविधिले ल्याउने चुनौतीहरुको सामना गर्न पनि आपूहरु तयार हुनुपर्ने मन्त्री गुरुङको भनाइ थियो । यसअघिको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाए पनि यसपटक केपी ओली नेतृत्वको सरकारले टिकटकलाई फेरि नेपालमा खुला गरिसकेको छ ।
SHARE YOUR THOUGHTS