२८ मंसिर २०८२, शनिबार

बीआरआईमा शर्तसहितको ऋण लिँदैनौ: कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत परियोजनाहरू सञ्चालन गर्दा हुने सहमतिमा अनुदानमात्र स्वीकार गर्नुपर्ने आफ्नो अडान कायमै रहेको जनाएको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा एड फाइनान्सिङ (ऋण र अनुदान) मा सहमति भएको विषयलाई पुनः चर्चा गर्दै, अनुदान मात्र स्वीकार्ने कांग्रेसको पुरानै नीति यथावत् रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआई अन्तर्गत ग्रान्ट फाइनान्सिङको सट्टा एड फाइनान्सिङमा सहमति भएको जनाउँदै त्यसमा पनि अनुदानका माध्यमबाट परियोजना सञ्चालन गर्न सकिने बताए । ‘बीआरआई सहमतिमा एड फाइनान्सिङ भनेको भए पनि त्यसभित्र अनुदानको सम्भावना हुन्छ,’ उनले भने।

डा. महतले बीआरआई सहमति भए पनि प्रत्येक परियोजनाका लागि छुट्टै सहमति आवश्यक पर्ने भन्दै, त्यस्तो सहमतिमा नेपालले अनुदानमात्र स्वीकार गर्नुपर्ने धारणा राखे । उनले नेपालले कुनै पनि देश वा दातृ निकायबाट ऋण स्वीकार गर्न सक्ने स्थिति नरहेको स्पष्ट पारे।

पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋणको उदाहरण दिँदै उनले ऋणबाट बनेका परियोजनाबाट अपेक्षित प्रतिफल लिन नसकिएको बताए । ‘हाम्रो दृष्टिकोण अहिले पनि स्पष्ट छ, अनुदानमात्र लिने । यो केवल चीनको सम्बन्धमा मात्र होइन । सरकार–सरकारबीचका ऋणका सर्तहरू देशका लागि फाइदाजनक छैनन् भन्ने हाम्रो निष्कर्ष हो,’ उनले थपे, ‘त्यसैले, शर्तसहितको ऋण हामी लिन सक्दैनौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनका लागि फ्रेमवर्कमा हस्ताक्षर भएपछि कांग्रेसभित्र त्यसविषयमा मतभेद देखिएको थियो ।

कांग्रेसका केही नेताहरूले परराष्ट्र सचिवले प्रधानमन्त्री ओलीको निर्देशनमा बीआरआई अन्तर्गत ऋणसमेत लिने बाटो खोल्दै सम्झौता गरेको आरोप लगाइरहँदा कांग्रेसको बैठकले यस्तो बताएको हो ।