
काठमाडौं । मौसम प्रतिकूल हुँदा मंगलबार (आज) विभिन्न जिल्लाका विमानस्थलको उडान प्रभावित भएको छ ।
उडान प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा यात्रुहरुको भीड लागेको छ । भैरहवा, सिमरा, चितवन, विराटनगर, जनकपुर, तुम्लिङटारको उडान प्रभावित भएको छ ।
लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि तराई क्षेत्रका विमानस्थल प्रभावित भएको छ ।
पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।
आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने विभागले जनाएको छ ।





SHARE YOUR THOUGHTS