![](https://internal.appharu.com/wp-content/uploads/2024/12/brian-lara-768x403.png)
काठमाडौं । वेस्ट इन्डियन क्रिकेटका लिजेन्ड ब्रायन लारा नेपाल आइपुगेका छन् । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका लारालाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले स्वागत गरे ।
लाराको यो नेपालप्रति पहिलो भ्रमण हो । त्रिवि क्रिकेट मैदानमा आयोजना भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू हेर्ने र नेपाली क्रिकेट खेलाडीहरूसँग अनुभव साटासाट गर्ने कार्यक्रमसहित उनी नेपाल आएका हुन् । नेपालमा तीन–चार दिन बिताउने लारा एनपीएलको फाइनल खेलसम्म भने सहभागी हुने छैनन् ।
क्यानले एनपीएलको पहिलो संस्करणलाई विशेष बनाउन क्रिकेटका सर्वकालीन महान खेलाडीमध्ये एक ब्रायन लारालाई निम्त्याएको हो ।
ब्रायन लारा वेस्ट इन्डिजका पूर्व कप्तान र विश्व क्रिकेटका सर्वकालीन महान खेलाडीमध्ये एक हुन् । ५५ वर्षीय लारा टेस्ट क्रिकेटमा एउटै इनिङ्समा ४०० रन बनाउने कीर्तिमान राख्ने एक मात्र ब्याट्सम्यान हुन् ।
उनले १३१ टेस्ट खेलमा ११ हजार ९५३ रन बनाएका छन्, जसमा ३४ शतक र ४८ अर्धशतक समावेश छन् । यस्तै, २९९ एकदिवसीय खेलमा १९ शतक र ६३ अर्धशतकसहित १० हजार ४०५ रन जोड्न सफल भएका छन् ।
लाराले १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेले । सन् २००७ को अप्रिल २१ मा अन्तिम एकदिवसीय खेल खेलेर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
SHARE YOUR THOUGHTS