निकिताका बुबाले मागे पैसा, भनिन्: ४ करोडमा किनेको घरको किस्ता तिर्दै छु ! « Eglish Khabarhub

निकिताका बुबाले मागे पैसा, भनिन्: ४ करोडमा किनेको घरको किस्ता तिर्दै छु !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका बेला उनकी श्रीमती निकिता पौडेलले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै मिडिया रिपोर्टिङप्रति गुनासो व्यक्त गरेकी छिन् ।

निकिताले आफ्ना बुवासँगको एउटा संवाद पनि सेयर गरेकी छिन् । बुवाले हाँस्दै फोनमा भनेका थिए, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ करोड, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न ।’

त्यसको जवाफमा निकिताले हाँस्दै भनिन्, ‘त्यत्रो पैसा भएरै त होला, ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु ।’

उनले मिडियामा आएका खबरप्रति असन्तुष्टि जनाउँदै भनेकी छिन्, ‘कुनै मिडियाले १५ करोड, कुनैले २५ करोड त कसैले ५० करोड लेखेका छन् । मेरो सम्पूर्ण बैंकिङ विवरण प्रहरीले भेरिफाइ गरिसकेको छ । यस्तो संवेदनशील विषयमा मिडियाले किन यति संवेदनहीन रिपोर्टिङ गरेका होलान्? समाचार लेख्दा अनुमानभन्दा पनि सत्यतथ्य बुझ्न खोज्नुपथ्र्यो ।’

निकिताले सहकारी ठगी प्रकरणमा श्रीमानमाथि लागेको आरोपबारे भनिन्, ‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले अहिलेसम्म त्यो प्रमाण दिएका छैनन् ।’

साथै उनले श्रीमान हिरासतमा रहेको बेला आफूविरुद्ध मिडियामा देखिएको आक्रमणप्रति दुःख व्यक्त गर्दै भनिन्, ‘श्रीमान हिरासतमा भएको बेला केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मौन बसेकोमा आश्चर्य लागेको छ ।’

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य व्यक्तिहरुलाई अदालतमा पेश गर्नुअघि निकिताको यस्तो स्टाटस आएको हो ।

लामो समयको अनुसन्धानपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार, रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ भने ३७ जना अझै फरार छन् । प्रहरीले प्रतिवादीहरुबाट १ अर्ब ५१ करोड माग दाबी गरेको छ ।

यस्तो छ निकिताको स्टाटस:

आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ’तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न ।’

मैले पनि हाँस्दै भने, ’त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’ बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ’मिडिया ट्रायल’को ।

कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ ।

खाता मेरो हो । यति–उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ’पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।

मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं ।

Publish on: