मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार

फिर्ता गर्न नसकेको बचतलाई संस्थाको सेयरमा कन्भर्ट गरौं, सहकारीको समस्या समाधान हुन्छ

डा युवराज खतिवडा


सहकारीमा बचतको सीमा, ‘यति नै रकम’ भन्ने हुँदैन । त्यो भनेको पुँजीले धान्न सक्ने हुनुपर्छ । बचत कति संकलन गर्ने भन्दा पुँजीको १० गुणा भनेकै हुन्छ । पुँजीको सीमाभित्र रहेर काम गर्दा ‘यति नै’ भन्ने हुँदैन ।

पुँजीको अनुपातमा लगानी, लगानीको क्षेत्र, र त्यसअनुसारको धितो लिलामको व्यवस्था गर्नुपर्छ । अहिले एउटै धितो विभिन्न ठाउँमा राखिएको छ ।

अहिले सबैतिर कर्जा सूचना केन्द्र भनिएको छ । म त्यसलाई कर्जा सूचना केन्द्र भन्दिन । त्यो ऋण सूचना केन्द्र हो । कर्जा सूचना केन्द्र बैंक तथा वित्तीय संस्थामा हुन्छ । सहकारीमा ऋण सूचना केन्द्र हो । सहकारी र बैंकको यो अन्यौलता रहनु हुँदैन ।

ऋण सूचना केन्द्र स्थापना नभएसम्म अहिले तत्कालका लागि कर्जा सूचना केन्द्रमा लिएर जाने भन्ने कुरा होला । भोलिको दिनमा ऋण सूचना केन्द्र नै हो । कर्जा सूचना केन्द्र र ऋण सूचना केन्द्रको बीचमा इन्टरलिंक हुनुपर्छ । सूचना आदान-प्रदान हुनुपर्छ । कुनै बैंकको ऋणीले सहकारीबाट ऋण लिएको छ कि छैन, त्यो जान्नका लागि दुईवटा सूचना केन्द्र एक-अर्कामा आबद्ध हुनुपर्छ।

कर्जा सुरक्षणको व्यवस्था सहकारीको च्यानलबाट गर्नुपर्छ । सहकारी संस्था त्यसको सदस्य हुने हो । नेपाल सरकार सदस्य भएको, नेपाल सरकारले सञ्चालन गर्ने कोष-निक्षेप सुरक्षण कोष समाधानको बाटो होइन । तपाईंहरू घुमेर, फिरेर, जानेर-नजानेर अर्को नियमनकारी निकायको दायरामा जान खोजिरहनुभएको छ । पछि सहकारीको स्व-नियमन शब्द झिकिदिए हुन्छ।

राष्ट्र बैंकले हेरोस् भन्ने चाहने हो भने अहिले बैंकिङ क्षेत्र त यसै चलेको छैन । ६० खर्ब निक्षेपका लागि कस्ता-कस्ता कदम चाल्नुपर्ने भएको छ । त्यहाँ राजनीतिक व्यक्ति हुँदैनन् र टिकाइराखेका छन् ।

सहकारी क्षेत्रमा राजनीतिक व्यक्तिहरू रहेका छन् । तपाईंहरू राजनीतिज्ञ व्यक्तित्व पनि हुनुहुन्छ । राजनीति गर्ने मान्छे त्यहाँ टिक्न सक्दैन । सहकारीमा समाज हुन्छ, मतदान हुन्छ । नियामक निकायले नियमनबाहेक केही पनि देख्दैन ।

त्यसो हुनाले राष्ट्र बैंकलाई हामीले यसमा तान्यौं भने अभियानका धेरै कुराहरू कुण्ठित हुन्छन् । राष्ट्र बैंकको जस्तो सुशासन राख्नुपर्छ ।

सहकारीले अरुले निर्देशित गर्ने होइन, आफैं निर्देशित हुनुपर्छ । हामीले आफैं निर्देशित हुने सहकारी खोजेको हो । कुनै निकायले निर्देशन दिने खालको सहकारी खोजेको होइन । तपाईंहरूलाई राष्ट्र बैंकको त्यत्रो मोह लागेको हो भने त्यो मोह छोडेर त्योभन्दा राम्रो हामी बनाउँछौं भनेर लाग्नुस् ।

राष्ट्र बैंकका कतिपय कर्जा लगानी ठीक छैन, सहकारीबाट कर्जालाई शतप्रतिशत उत्पादनमूलक क्षेत्रमा जाने व्यवस्था हामी बनाउँछौं भन्नु । प्रतिस्पर्धाका लागि तयार छौं भन्नु । राष्ट्र बैंक मातहत जाने कुराले भोलिका दिनमा अभियानलाई समस्या हुन सक्छ । यस्ता विषयमा अलिकति ध्यान दिनु होला । यस्ता विषय कानून निर्माणको सन्दर्भमा ध्यान दिनु होला ।

समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि तपाईंहरूले पनि विभिन्न छलफल गर्दै गर्नु होला । मैले यसमा केही सुझाव राखेको छु ।

सहकारीमा भएको पैसा तपाईंहरुकै हो । संस्था तपाईंहरूको हो । पैसा तपाईंहरूको हो । त्यो संस्था बचाउने जिम्मेवारी पनि तपाईंहरूको हो । संस्थाको जिम्मेवारी लिनु, नेतृत्व लिनुहोस् । सञ्चालक समिति बनाउनुहोस् । बचत फिर्ता गर्न नसकेको खण्डमा त्यसलाई सेयरमा कन्भर्ट गर्नुहोस् । यसरी जाने हो भने सेयर होल्डरको स्वामित्वमा संस्था आउँछ ।

समस्याग्रस्त सहकारी विस्तारै लयमा आउँछ । सहकारीको आफ्नो पैसा नभएको कारण धेरै चिन्ता नभएको हो । आफ्नो पैसा हुने हो भने सबैलाई चिन्ता हुन्छ । चिन्ता भएपछि संस्थालाई आफैंले सञ्चालित गर्न सकिन्छ । आफ्नो स्वामित्व बढाएर संस्था चलाउनुपर्छ ।

सहकारीले गर्ने कारोबारमा पनि ध्यान दिनुपर्छ । केही देशले क्रिप्टोलाई वैधानिक रूपमा चलाएका छन् । नेपालमा त्यो वैधानिक छैन । त्यसलाई वित्तीय कारोबार भनेर हेर्नु हुँदैन । कानूनले भनेअनुसार काम गर्नुपर्छ । सहकारीमा समस्या आउनुको कारण धेरै लगानी घर- जग्गामा भएर हो । अब त्यसो नगरौं ।

अहिले सहकारी प्रवर्द्धन कोषको पनि चर्चा छ । यसको प्रयोग कसले, कसरी चलाउने, यसमा सरकारको भूमिका के हुने भन्नेमा ध्यान दिनुपर्छ । यसमा बढी पारदर्शी बन्दै जानुपर्छ ।

सहकारीको लेखापरीक्षण गर्दा सिएहरूले पनि पेशागत धर्म छोड्नु हुँदैन । तपाईंहरूले पनि सहकारीको आन्तरिक लेखा प्रणाली सबल बनाउनु ।

(राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धन सम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले दिएको मन्तव्य)