पोखरा । सामाजिक सञ्जालमा यतिबेला एउटा तस्बिर भाइरल भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले बुधबार साँझ सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै नेपाल प्रहरी र सरकारमाथि गम्भीर प्रश्न उठाएका थिए ।
उनले सामाजिक सञ्जालमा सेयर गरेको उक्त तस्बिर पार्टी सभापति रवि लामिछानेको भएको उनको दाबी छ ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रविको तस्बिर भन्दै बोहोराले लेखेका छन्, ‘हिरासत कक्षमा सुतेका रवि दाइको यो तस्बिर कास्की प्रहरीले कसलाई पठायो? कुन उद्देश्यले यो सार्वजनिक गरियो? यसको मूल्य त कसैले न कसैले तिर्नुपर्छ।’
बहसको केन्द्रमा तस्बिर
तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसबारे बहस सुरु भयो । कतिपयले तस्बिरको वास्तविकतामाथि शंका गरेछन् र एआईको प्रयोग गरेर बनाइएको भन्दै आशंका व्यक्त गरेका छन् भने रवि समर्थकहरुले उक्त तस्बिर नियोजित रूपमा बाहिर ल्याइएको आरोप लगाएका छन् । तस्बिरले सामाजिक सञ्जालमा बहस भइरहँदा बोहोराले सामाजिक सञ्जाल फेसबुकमा आज बिहान लाइभ गर्दै उक्त तस्बिर रवि लामिछानेकै भएको दाबी गरेका छन् । तर यसलाई कसले कुन उद्देश्यले सार्वजनिक गरे भन्दै उनले प्रश्न गरे । आफूहरुले पनि यसबारे अध्ययन गरिरहेको भन्दै उनले प्रहरीले पनि यसबारे जाँच गर्ने जनाएको बताए ।
रास्वपा कार्यकर्ताले नै गरेका थिए सार्वजनिक
रास्वपा नेता कार्यकर्ताहरुले हिरासतमा पनि रवि लामिछाने सुरक्षित नरहेको र प्रहरीले कसैलाई पठाउन यस्तो फोटो सार्वजनिक भएको आरोप लगाइरहँदा उक्त तस्बिर रास्वपाकै कार्यकर्ताले सार्वजनिक गरेको खुलेको छ ।
रास्वपा कार्यकर्ता बताउने निकोलस भुसालले लामिछानेको तस्बिर सार्वजनिक गरेको खुलेको छ । लामिछानेको समर्थनमा प्रदर्शन गर्दै आएका भुसालले आफूले तस्बिर सार्वजनिक गरेको स्वीकार गरेका छन् । तर उनले भने सामाजिक सञ्जालबाट उक्त तस्बिर हटाएका छन् ।
उनले भनेका छन्, ‘गलत गर्छु भनेर होइन मैले प्रहरी अघि नै खिचेको हो । रविमाथि पहिला शोषण भयो र अहिले यस्तो अवस्थामा हुनुहुन्छ भनेर खिचेको थिएँ,’ उनले भनेका छन्, ‘ गल्ती भयो । रवि दाइको अवस्था राम्रो छ भनेर जानकारी दिन राखेको थिएँ, तर गलत अर्थ लाग्यो र हटाएँ।’
उनी केही दिनअघि लामिछानेलाई भेट्न कास्की प्रहरीमा पुगेका थिए । तर लामिछाने सुतिरहेकाले भेट्न नमिल्ने जवाफ प्रहरीले उनलाई दियो । तर उनले नमानेपछि प्रहरीले उनलाई रवि सुतिरहेको सीसीटीभीको फुटेज देखाएको थियो । जसलाई उनले मोबाइलमा कैद गरेको हुनसक्ने कास्की प्रहरीको भनाइ छ ।
तर उनले उक्त स्थानसम्म कसरी मोबाइल लगे भन्नेबारे भने प्रहरीले अनभिज्ञता देखाएको छ ।
SHARE YOUR THOUGHTS