पर्वत । गिट्टी बालुवा अभावमा पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ ।
आयोजनाको सुरुङमा कङ्क्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको हो । आयोजनाको सुरुङ निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार कात्तिक महिनादेखि पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध हुन नसकेकाले निर्माण कार्य पूरै प्रभावित भएको छ । ‘सुरुङ खनेपछि त्यसमा बालुवा र गिट्टीको मिश्रणले कङ्क्रिटिङ गर्नुपर्ने हुन्छ’ कम्पनीका प्रोजेक्ट म्यानेजर ध्रुव मिश्रले भने ‘बालुवा र गिट्टी नपाउँदा काम नै सुरु गर्न सकेका छैनौँ ।’
कम्पनीका अनुसार अहिलेसम्म चार हजार १९ मिटर सुरुङमध्ये १८० मिटर मात्रै खन्न बाँकी छ । खनिएको सबै सुरुङलाई कङ्क्रिटिङ गर्नुपर्ने हुन्छ । सुरुङ कङ्क्रिटिङ गर्न ६५ हजार घन मिटर बालुवा तथा १३० घनमिटर गिट्टी आवश्यक पर्छ । तर पर्वतका क्रसर र वरपरका क्रसरले समेत मागको तुलनामा न्यून संख्यामा पनि आपूर्ति गर्न नसकेको प्रोजेक्ट म्यानेजर मिश्रले बताए ।
हेम्जाबाट दैनिक एक टिपर मात्र बालुवा ल्याएर काम भएको छ । यस्तै अवस्था रहेमा आयोजनाको निर्माण कार्य लम्बिँदै जाने र लागत समेत बढेर जाने उहाँले जानकारी दिए । पर्वतका क्रसरले माग अनुसार कहिल्यै पनि निर्माण सामग्री उपलब्ध गराउन नसकेकाले आयोजना निर्माणका काममा सधँै समस्या हुने गरेको मिश्रको भनाइ छ । सुरुङ मात्रै होइन आयोजनाको अन्य संरचना निर्माणमा पनि निर्माण सामग्रीको अभाव भइरहेको छ ।
नदीमा स्काभेटर प्रयोग गरी निर्माण सामग्री निकाल्न कानुनी रुपमा प्रतिबन्ध लागेका कारण आयोजनाका लागि आवश्यक सामग्री आपूर्ति हुन सकेको छैन । ‘मानिसले निकाल्दा यस क्षेत्रमा निर्माण हुने घरका लागि पनि निर्माण सामग्री पर्याप्त हुँदैन’ दक्षिणकाली क्रसर उद्योगका सञ्चालक विप्लव हमालले भने ‘मेसिन राखेर निकाल्न दिइएको छैन ।’ मानिसले निकाल्दा यस क्षेत्रमा निर्माण भइरहेका जलविद्युत्, राष्ट्रिय गौरवका सडक र विद्युत् प्रसारण लाइन तथा सरकारी भवनका लागि समेत बालुवा र गिट्टी आपूर्ति गर्न नसक्ने उनको भनाइ छ । रासस
SHARE YOUR THOUGHTS