नेपाल भित्रियो सार्क ट्यांक, १०० जना उद्यमशीलताकाे आइडियामध्येबाट उत्कृष्टलाई प्रवर्द्धन गरिने « Eglish Khabarhub

नेपाल भित्रियो सार्क ट्यांक, १०० जना उद्यमशीलताकाे आइडियामध्येबाट उत्कृष्टलाई प्रवर्द्धन गरिने



काठमाडौं । विश्वचर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्यांक’को नेपाली संस्करणको सुरुवात हिमालय टेलिभिजनबाट हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा हेमराज ढकाल, आनन्द बगारिया, रितु सिंह वैद्य, सौरभ ज्योति र क्याबिनेट श्रेष्ठ गरी पाँच जनालाई शार्क (निर्णायक) घोषणा गरेर नेपालमा उद्यमशीलताकाे नयाँ आइडिया प्रवर्द्धनको घोषणा भएको छ ।

कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । सोमबार ‘सार्क ट्यांक नेपाल’को औपचारिक घोषणा भएको हो । नवीनता, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले चर्चित यो प्लाटफर्म भारत, पाकिस्तान, बंगलादेशमा समेत लोकप्रिय छ । बेलायती टिभी कार्यक्रम ‘सार्क ट्यांक’बाट इजाजत लिएर हिमालय टिभीले नेपाल संस्करण ल्याइएको हो ।

सार्क ट्यांक सोनी पिक्चर्स टेलिभिजनको स्वामित्वमा छ । शोलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्ने बताइएको छ।

हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ । कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ ।

याे कार्यक्रमले नयाँ प्रस्ताव लिएर आएका स्टार्टअपमा लगानी गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने भएको छ ।

सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रुपमा सुरु भएको यो शो अहिले विश्वकै ठूलो व्यावसायिक रियालिटी टिभी शो हो । सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको यो शोको नेपाल संस्करण ५४ औं फ्रेन्चाइज हो ।

समारोहमा सोनी टेलिभिजन लण्डनका कार्यकारी प्रमुख र भारतीय ‘शार्क ट्यांक’का सदस्यहरूले शार्क ट्याङ्क नेपालको शुभारम्भको अवसरमा हिमालय टिभीलाई भिडियोमार्फत बधाई तथा शुभकामना सन्देश दिएका थिए ।

कार्यक्रममा हिमालयन टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले तीन वर्षअघि नै सोनीसँग सम्झौता भएपनि कोभिड र आर्थिक मन्दीका कारण शो आउन ढिलाइ भएको बताए । नेपालमा व्यवसायको भविष्य सम्भव रहेको, उद्यमशीलताको विकास र सेलिब्रेसन गर्न सकिने सन्देशसहित शो आउन लागेको उनले बताए ।

सोनी पिक्चर्स टिभीकी दक्षिण एसिया क्षेत्रीय अन्तर्राष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिनले भारत, बंगलादेश र पाकिस्तानमा अभूतपूर्व सफलतापछि नेपालमा यो शो ल्याउन पाउँदा उत्साहित रहेको उनले बताइन् । ‘शार्क ट्यांकले अनगिन्ती उद्यमीलाई सशक्त बनाएको छ र लाखौंलाई उनीहरूको नवप्रवर्तन र दृढ संकल्पनका कथाद्वारा प्रेरित गरेको छ,’ भासिनले भनिन् ।

नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको शोले उक्त समारोहमा आवेदन आह्वान समेत गरेको छ । व्यवसायीले आफ्नो व्यवसायसँग सम्बन्धित डेटा प्रस्तुत गर्दै एक निश्चित प्रतिशत व्यवसायको सेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्न आवेदन गर्न सक्नेछन् ।

व्यवसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमीले हिमालय टिभीको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन् । आवेदन जनवरी १५ तारिखसम्म दिइसक्नुपर्नेछ ।

समारोहमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र शार्कको रुपमा अनुबन्धित जजहरूले सहभागीसँग प्रश्नोत्तर गरेका थिए । शोलाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्नेछन् ।

शोका जजमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने जनाइएको छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ । कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ ।

Publish on: