![](https://internal.appharu.com/wp-content/uploads/2024/12/huwai-768x512.jpg)
काठमाडौं । प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न भएको छ । ‘ड्राइभिङ अ ग्रिनर डिजिटल फ्युचर’ नारासहित आयोजना गरिएको यो समिट नेपालका अग्रणी प्रविधि पत्रकारहरू र हुवावे नेपालका पदाधिकारीहरूको सहभागितामा सम्पन्न भएको हो ।
आइतबार आयोजित उक्त कार्यक्रममा नेपालको प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको उपस्थिति थियो । साथै, हुवावे नेपालका विभिन्न विभागका प्रतिनिधिहरू पनि सहभागी थिए । कार्यक्रममा सहभागीहरूले नेपालको डिजिटल विकासका सम्भावनाहरू, विश्वव्यापी प्रविधिको नवीनतम प्रयोग र हरित प्रविधि विकासका विषयमा छलफल गरेका थिए।
कार्यक्रममा हुवावे नेपालका पब्लिक रिलेसन प्रमुख लिन हाइले नेपाली प्रविधि पत्रकारहरूसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी व्यक्त गरे । उनले भने, ‘नेपालको प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन हामी टिजेएफबीसँग सहकार्य गर्न पाएकोमा गर्व गर्छौं । भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने हाम्रो अठोट छ ।’ उनले प्रविधिको फाइदा समाजका सबै वर्गसम्म पुर्याउन हुवावेले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। ‘हामी टिजेएफसँग थप विविध विषयमा बार्यक्रम गर्न तयार छौं र नेपाली प्रविधि पत्रकारितालाई योगदान दिन चाहन्छौ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/hwai2-768x512.jpg)
हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले हुवावेले विश्वभर प्रविधिको माध्यमबाट पुर्याएको योगदानबारे जानकारी गराए । उनका अनुसार, हुवावे हाल विश्वका १७० भन्दा बढी देशमा सेवा प्रदान गर्दै करिब २ लाख ७ हजारभन्दा बढीलाई रोजगारी दिन सफल भएको छ । उनले थपे, ‘हाम्रो उद्देश्य व्यापारिक मात्र होइन, सामाजिक र संस्थागत उत्तरदायित्वका क्षेत्रहरूमा पनि योगदान पुर्याउनु हो । नेपालमा पनि हुवावेले विगत २५ वर्षदेखि निरन्तर सेवा दिँदै सामाजिक र आर्थिक रुपान्तरणमा सहयोग गरिरहेको छ ।’
कार्यक्रममा टिजेएफका अध्यक्ष उमेश पौडेलले नेपालमा प्रविधि पत्रकारितालाई थप फराकिलो पार्नका लागि यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने बताए । नेपालमा प्रविधिको क्षेत्रको बुझाइमा ठूलो अन्तर रहेको भन्दै उनले यस क्षेत्रलाई थप क्रियाशिल र प्रभावकारी बनाउनका यस्ता कार्यक्रहले सहयोग पुग्ने बताए । हामीले प्रविधि पत्रकारितालाई अझ समृद्ध बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको र विश्वका नविनतम प्रविधि जस्तै एआइ, साइवर सेक्युरिटि तथा फाइभजी लागयतका विषयमा थप कार्यक्रम गर्दै प्रविधि पत्रकारितालाई थप मजबुत बनाउन लागेको बताए ।
समिटका क्रममा हुवावे नेपालका प्रभात रेग्मीले विश्व बजारमा फाइभजी प्रविधिको प्रभाव र यसको सम्भावनाबारे प्रस्तुति दिएका थिए । उनले भने, ‘फाइभजी प्रविधिले कम विलम्बता (लो ल्याटेन्सी) का साथ उच्चगतिको सेवा प्रदान गर्दछ, जसले गर्दा यो प्रविधि उद्योगदेखि स्वास्थ्य र शिक्षा क्षेत्रसम्म क्रान्तिकारी परिवर्तन ल्याउन सक्षम छ ।’ रेग्मीले नेपालमा फाइभजीको विस्तारबाट दिगो डिजिटल विकासलाई तीव्रता दिने विश्वास व्यक्त गरे । उनले नेपालले पनि फाइभजी सुरुवात गरेर भरपुर उपयोग गर्न सक्ने र यसले नेपाल सरकारले लिएको डिजिटल नेपाल फ्रेमवर्कलाई धेरै ने सहयोग गर्ने बताए ।
कार्यक्रममा बिजनेस पावर एण्ड बिजनेस इन्भाइरोन्मेन्ट डिपार्टमेन्टका निर्देशक जेम्स झाङले हुवावेले सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जाको उपयोग बढाएर वातावरणमैत्री समाधानहरू विकास गर्न प्राथमिकता दिएको जानकारी गराए । उनले नेपालमा भौगोलिक विविधताका कारण सौर्य ऊर्जाको ठूलो सम्भावना रहेको र यसमा हुवावे प्रविधिले महत्त्वपूर्ण योगदान दिनसक्ने बताए।
प्रतिक्रिया