पोखरा-दिल्ली उडान गर्न नपाएको बुध्द एयरको गुनासो: भारतले २ वर्षसम्म पनि अनुमति नदिइ फाइल घुमायो « Eglish Khabarhub

पोखरा-दिल्ली उडान गर्न नपाएको बुध्द एयरको गुनासो: भारतले २ वर्षसम्म पनि अनुमति नदिइ फाइल घुमायो



काठमाडौं । बुध्द एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान अनुमति नपाउनुमा सरकारकै कमजोरी भएको बताएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले भने, ‘सरकारकै कारणले हामीले पोखराबाट दिल्ली उडान गर्न पाएका छैनौं ।’

यो विमानस्थललाई चीन सरकारको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) प्रोजेक्ट अन्तर्गतको आयोजना भनेर भनिदा समस्या भएको उनले बताए ।

‘यही कारण भारतले उडान अनुमति दिएको छैन । यो विमानस्थल बीआरआई हो कि होइन भनेर नेपाल सरकारले पुष्टि गर्नुपर्छ,’ बस्नेतले भने,’भारतले बीआरआई भएकै कारणले उडान अनुमति दिएको छैन । त्यसैले यो विमानस्थल पेन्डुलम जस्तो भयो। यो विमानस्थल बीआरआई अन्तर्गत होइन भनेर सरकारले भनिदिनुपर्यो, भारतले तत्कालै उडान अनुमति दिन्छ।’

बुध्द एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएदेखि नै अन्तर्राष्ट्रिय उडान गर्ने प्रतिवद्धता जनाएको बस्नेतको भनाइ छ ।

दिल्ली उडानको अनुमति मागेको भए पनि फाइल अहिले पनि घुमिरहेको उनको भनाइ छ ।

‘यो विमानस्थलबाट उडान अनुमति मागेको तीनदिन भित्रमा सरकारले स्वीकृति दियो। त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पोखराबाट दिल्ली उडान गर्ने अनुमति मागेका हौं, त्यो फाइल अहिले पनि घुमिरहेको छ,’ उनले भने, ‘उडान पाइँदैन भनेको त छैन, तर त्यो फाइल अहिले पनि घुमिरहेको छ।’

यो विमानस्थल सुरु भएको २ वर्ष पुगेको छ । दुई वर्षसम्म पनि भारतले बुध्द एयरलाई उडान अनुमति नदिनुमा सरकारले नै विमानस्थलको बारेमा स्पष्ट नपार्नु समस्या भएको उनले बताए ।

‘त्यो विमानस्थलको बारेमा बोइङ र एयरवस दुबै कम्पनीलाई काठमाडौंमा बोलाएर छलफल समेत गरिसकेका छौं,’ बस्नेतले थपे, ‘पोखरा विमानस्थल असाध्यै क्रिटिकल र रेस्टिकेटेड विमानस्थल हो। तरपनि एटीआरबाट उडान हुन सक्छ भनेर हामीले प्रयास थालेका हौं । यो विमानस्थलमा १४४ सिटको जहाजमा पनि लोड पेनाल्टी हुन्छ भनिएको थियो । यो विमानस्थल उद्घाटनपछि पहिलो अन्तर्राष्ट्रिय उडान बुध्द एयरले एटीआर ७२ जहाजबाट गर्न चाहेको हो । बंगलादेशले उडान गर्न खोज्दा पनि हवाई रुटका कारण उडान हुन नसकेको भन्ने बुझिएको छ ।’

Publish on: