अर्थ मन्त्रालयमा पेस भएका फाइलको प्रक्रिया ७ दिनभित्रै टुंगिने « Eglish Khabarhub

अर्थ मन्त्रालयमा पेस भएका फाइलको प्रक्रिया ७ दिनभित्रै टुंगिने



काठमाडौं । अर्थ मन्त्रालयले फाइल व्यवस्थापनमा समयसीमा तोक्दै कार्यसञ्चालन निर्देशिका २०८१ लागू गरेको छ ।

यो निर्देशिकाले मन्त्रालयमा पेस भएका फाइलहरू बढीमा ७ दिनभित्रै प्रक्रिया टुंग्याउनुपर्ने व्यवस्था गरेको छ । सहसचिव, सचिव वा मन्त्रीको राय आवश्यक पर्ने फाइलहरूको हकमा थप ५ दिनको समय तोकिएको छ ।

निर्देशिकामा मन्त्रालयका विभिन्न कामका लागि समयसीमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । रकमान्तर, स्रोतान्तर वा कार्यक्रम संशोधनका फाइलहरू ७ दिनभित्र अघि बढाउनुपर्नेछ ।

राय लिनुपर्ने अवस्थामा राय प्राप्त भएको मितिले ५ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था छ। यसले अर्थ मन्त्रालयमा रहेका फाइलहरूको प्रक्रिया अब बढीमा १२ दिनभित्र टुंगिने निर्देशिकामा उल्लेख गरिएको छ ।

थप निकासाको विषयमा पनि निर्देशिकामा स्पष्ट छ । यस्तो फाइलमाथि ७ दिनभित्र निर्णय गर्नुपर्नेछ । राय, सहमति, समन्वय, खर्च समर्थन जस्ता अन्य विषयहरूका कामलाई पनि अधिकतम ७ दिनभित्र टुंग्याउनुपर्नेछ । ऐन, नियम, कार्यविधि, वा विनियम संशोधनका विषयमा भने १० दिनभित्र राय दिने र राय प्राप्त भएपछि ७ दिनभित्र निर्णय गर्ने व्यवस्था गरिएको छ ।

नयाँ निर्देशिकाले आगामी बजेट निर्माण र कार्यान्वयनलाई पनि समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। पुस मसान्तभित्र अन्य महाशाखाहरूबाट सूचना संकलन गरी स्रोत अनुमान समितिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

पूर्वबजेट छलफल चैतको पहिलो हप्तादेखि सुरु हुने र वैशाख तेस्रो हप्तासम्म प्रारम्भिक मस्यौदा तयार हुने छ । बजेटको अन्तिम तयारी भने जेठ पहिलो हप्ताभित्रै गरिने निर्देशिकामा उल्लेख छ ।

Publish on: