![](https://internal.appharu.com/wp-content/uploads/2025/01/pressmet_biratnagar-768x403.png)
विराटनगर । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म विराटनगरको डिग्री कलेजको मैदानमा आठौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको छ ।
यस एक्स्पोको नाम ‘एक्स्पो २०२५ डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट मोडल’ राखिएको छ ।
यस एक्स्पोमा उद्योगीहरूले आफ्नो उत्पादन र व्यापारीहरूले व्यापारका वस्तुहरू उपभोक्तासामु प्रदर्शित गर्नेछन् । संगठनका अध्यक्ष राकेश सुरानाले एक्सपोमा खरिद बिक्रीको पनि संभावना रहेको भन्दै एक्स्पोले अनुमानित लक्ष्य नराखेको बताए ।
संगठनले २०५३ सालमा कोशी महोत्सवको नाममा पहिलो एक्स्पो आयोजना गरेको थियो । २०८१ मा आठौं संस्करणसम्म आइपुग्दा विराट एक्स्पो देशको अन्तर्राष्ट्रिय स्तरका औद्योगिक एक्स्पोहरूको बीचमा एक छुट्टै ब्राण्डको रूपमा स्थापित भएको छ । यस एक्स्पोमा उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान गर्न, उद्यमी र व्यवसायीलाई नयाँ प्रविधिको पहिचान र व्यवसायिक सम्बन्धहरूको विकासमा मद्दत पुग्नेछ ।
पछिल्लो संस्करणमा कृषि, औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगै आर्थिक र औद्योगिक क्षेत्रमा केन्द्रित शेमिनारहरू आयोजना गरिएको थियो । यस संस्करणमा नवप्रवर्तन प्रोत्साहन गर्न स्टार्टअप पेभिलियन, रोजगार पेभिलियन, पर्यटन प्रवर्धनका लागि पर्यटन पेभिलियन र लगानी पेभिलियन राखिनेछन् । यसका अतिरिक्त, युवापलायनको समस्या समाधान गर्न स्वदेशमै रोजगारका अवसरहरू बढाउने उद्देश्यले युवालाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरू समावेश गरिनेछन् ।
एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिक इको सिस्टम निर्माणका लागि डिजिटल प्रविधिको प्रयोगमा फोकस गरिएको छ । एक्स्पो संयोजक भोलेश्वर दुलालले यसमा विशेष गरी युवाहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले डिजीटल प्रविधिमा आधारित कार्यक्रमहरू समावेश गर्ने बताए ।
यसमा करियर काउन्सिलिङ, ए.आई. कन्फ्रेन्स, स्टार्टअप भिजन कोशी हाकथन, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, बिजनेश क्लिनिक जस्ता विशेष आकर्षणहरू रहनेछन् । कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोबाइलका साथै उद्यमशीलता विकासका सबै प्रकारका व्यावसायिक विकास सेवाहरू पनि प्रदर्शन गरिनेछ ।
प्रत्येक दिन थिमेटिक सेसनहरूको आयोजना गरिनेछ जसमा पर्यटन प्रवर्धन, स्थानीय उत्पादनसँग पर्यटनलाई जोड्ने कार्यक्रमहरू समावेश हुनेछन् । युवा व्यवसायीहरूलाई प्रोत्साहन गर्न उद्योगी व्यवसायीलाई विभिन्न पुरस्कारहरूसहित समापनमा सम्मानित गरिनेछ । यस एक्स्पोमा सांस्कृतिक कार्यक्रमहरूमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिहरू पनि रहनेछन् ।
विद्यार्थीहरूका लागि विशेष कार्यक्रमहरू पनि राखिनेछन् । एक्स्पोमा विद्यार्थियोंका लागि गाइडेड टूर र विभिन्न पेभिलियनहरूको अवलोकन गराइनेछ । यसका साथै, ५ वटा कलेजका ५०-५० जना विद्यार्थीहरूलाई एक्स्पोको समग्र जानकारी दिने कार्यक्रमको आयोजना गरिनेछ ।
यस्ता छन् विशेष कार्यक्रमहरू
९ पेभिलियन तथा स्टल संख्या २६८: एक्स्पोमा ९ पेभिलियन रहने र त्यसका २६८ वटा स्टल रहने दुलालले जानकारी दिए । त्यसमा विराट बजार बिटुबिका १२ वटा स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२ वटा स्टल, रोजगार कोशीका १२ वटा स्टल, व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० बटा स्टल, अटोमोवाइल्सका २० वटा स्टल, औद्योगिक क्षेत्रका ७५ वटा स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज ७५ वटा, खाद्यका १० वटा र प्रायोजकका १२ वटा स्टल रहने संगठनको विज्ञप्तिमा उल्लेख छ ।
कृषि, उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक कृयाकलापहरुमा डिजिटल प्रविधिको प्रयोग र प्रविधिमा आधारित नविनतम ज्ञान एवं लगानीलाई समन्वयात्मकरुपमा प्रोत्साहन गर्न यसपटक डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिम चयन गरिएको छ ।
संगठनको एक्स्पोको मष्कटमा एक रोबोटको चित्र छ । रोबोटको अर्थ अब स्वचालित यन्त्रको प्रयोगलाई बढाउनुपर्छ र हामीले अटोमेसनलाई आत्मसात् गर्नुपर्छ भन्ने हो । रोबोटको शरीर मकैको घोगाले कृषि क्षेत्रको उत्थान, हातमा उद्योगको भवनले डिजिटल प्रविधिमा आधारित कृषिजन्य उद्योगलाई प्राथमिकता, शिरमा सगरमाथाको चित्रले पर्यटन विकासलाई जनाएको छ । यसप्रकार डिजिटल प्रविधिमा आधारित कृषि, कृषिजन्य उद्योग र पर्यटनको विकास नै यस मास्कटको मूल सन्देश भएको बताइएको छ ।
भर्चुअल बिजनेश क्लिनिक: यस एक्स्पोमा उद्योगी व्यवसायीहरूको उद्योग विशेष समस्याहरू दर्ता गर्न भर्चुअल प्लेटफर्ममार्फत क्लिनिक सञ्चालन गरिनेछ ।
भिजन कोशी हाकाथन: यो १० दिनको प्रतियोगिता नवप्रवर्तन विचार भएका युवाहरूलाई उद्यमशीलतामा रुपान्तरण गर्ने उद्देश्यले गरिनेछ । यसमा कृषि, उद्योग र पर्यटन क्षेत्रका समस्याहरूलाई प्रविधिमा आधारित समाधान गर्ने कार्यशालाहरू हुनेछ।
रोजगार कोशी पेभिलियन: यसमा युवाहरूसँग करियर काउन्सेलिङ गरिनेछ र हस्पिटालिटी, आईटी, र इलेक्ट्रिकल क्षेत्रका १८०० युवालाई प्रत्यक्ष तालिम र प्रमाणपत्र वितरण गरिनेछ ।
इनर्जी इफिसियन्सी कार्यक्रम: यसका माध्यमबाट उद्योगीहरूलाई ऊर्जा दक्षता, फायर सुरक्षा अडिट, र अन्य सेवाहरूको बारेमा जानकारी दिइनेछ ।
मेरो देश मेरै उत्पादन अभियान: स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने अभियानका रूपमा यो कार्यक्रम सञ्चालन गरिनेछ । यसमा स्वदेशी उद्योगीहरूको ब्राण्डिङमा सहयोग पुर्याइनेछ ।
डिजिटल तथा बिजनेश डेभलपमेन्ट सर्भिस पेभिलियन: यस पेभिलियनमा डिजिटल प्रविधि, बैंकिङ सेवाहरू, वित्तीय संस्थाहरू र शैक्षिक स्वास्थ्य क्षेत्रका सेवाहरू प्रदर्शित गरिनेछन् ।
SHARE YOUR THOUGHTS