काठमाडौं । माघे संक्रान्तिको समयमा राजधानीको एउटा मात्रै बजारबाट तीन दिनमा ६ करोड रुपैयाँबराबरको विभिन्न प्रकारका ५ सय टन तरुलको व्यापार भएको छ ।
यो मूल्य भने थोक व्यापारको हो । खुद्रामा भने यो परिमाणको तरुल करिब १५ करोड रुपैयाँबराबरको बिक्री भएको छ । गत वर्षको तुलनामा यो वर्ष भने तरुलले मूल्य र बजार दुवै राम्रो पाएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार माघे संक्रान्ति मान्न अत्यधिक खाइने पिंडालु, सखरखण्ड, तरुल र स्कूसको पछिल्लो तीन दिनमा थोक व्यापार यो मूल्यबराबरमा भएको हो ।
कन्दमुल समूहभित्र पर्ने तरुलमा नेपाल भने करिब २० प्रतिशत परनिर्भर छ । सिम्मल (तराई जातको) तरुल नेपालमा कम परिमाणमा उत्पादन भएकाले भारतको उत्तर प्रदेशबाट आयात हुन्छ । कन्दमूल समूहभित्र पिंडालु, सखरखण्ड, स्कूल र तरुल पर्छन ।
माघे संक्रान्तिका दिन चाकु, तिलको लड्डु र घिउसँगै खाइने तरुलको व्यापार देशकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमार्फत गत् आइतबारदेखि मंगलबार बिहानसम्ममा ६ रुपैयाँबराबरको कन्दमुलको थोकमा व्यापार भएको हो ।
अन्य बजारबाट कति परिमाणमा यस्ता कन्दमूलको व्यापार भयो भन्ने बिषयमा यकिन विवरण छैन् । यस्तै माघे संक्रान्तिकै दिन अझ कति परिमाणमा बिक्री भएको बिषयमा पनि आधिकारिक तथ्याँक प्राप्त भएको छैन ।
शरीरको लागि निक्कै पोषिलो आहाराको रुपमा चिनिने तरुलको व्यापार माघे संक्रान्तिका कारण उपत्यकामा उत्कर्षमा पुगेको थियो । पछिल्लो एक साताको अवधीमा कालीमाटी तरकारी बजारमा मात्रै सबैभन्दा बढि तरुलको व्यापार भएको छ । यस्तै तरुलपछि सखरखण्डको पनि अत्यधिक व्यापार भएको छ ।
कालिमाटी तरकारी बजारको तथ्याँकअनुसार आइतबार उक्त बजारमा १ लाख ११ हजार ३६ किलो विभिन्न प्रकारको तरुल भित्रिएको थियो । यस्तै सखरखण्ड ३९ हजार ६०० र पिडालु १३ हजार २ सय ७५ किलो भित्रिएको थियो ।
यस्तै सोमबार १३ हजार ४५० किलो सखरखण्ड, १ हजार किलो पिडालु र ५१ हजार ९ सय ३५ किलो तरुल भित्रिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकाले यो दिन कति परिमाणमा भित्रिएको थियो, त्यो बारेमा तथ्याँक भने उपलब्ध छैन ।
घिमिरेका अनुसार सबै प्रकारका तरुलको औसत खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँका दरले ५ लाख किलो तरुलको व्यापार भएको छ । कालिमाटी बजारमा मंगलबार बिहान पताले(रातो) तरुल प्रतिकिलो १८० देखि २ सय, लोकल ८० देखि १ सय, स्कुस तरुल १५० देखि २ सय, पिडालु १ सय, सिमल तरुल ७० देखि ८०, हात्तिपाइले ९० देखि १ सय र सखरखण्ड ६५ रुपैयाँ औषत थोक मूल्यमा बिक्री भएको छ ।
‘गत वर्षको तुलनमा यो वर्ष कन्दमुल जातको तरकारीको राम्रो व्यापार भएको छ, बजारमा आएको सबै परिमाण करिब बिक्री भएको छ,’ घिमिरेले भने,‘गत् वर्ष आर्थिक मन्दीका कारण बिक्रीमा करिब ३० प्रतिशतले गिरावट आएको थियो ।’
व्यापारीलाई स्वदेशी उत्पादन तथा भारतबाट आयात गरी सर्वसाधारणलाई बिक्री गर्न मंगलबार बिहानसम्म भ्याई नभ्याई भएको उनको भनाई छ । कन्दमूलको अत्यधिक व्यापार सोमबार साँझसम्म भएको थियो ।
उनकाअनुसार पछिल्लो ४–५ वर्षयता तरुलको ब्यापार निक्कै फस्टाएको छ । पहिले खान नरुचाउने उपभोक्ताले पनि स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले यसको विभिन्न प्रकारको परिकार खान पल्केका छन् ।
जसले गर्दा यसको कारोबार हवात्तै बढेको हो । उपत्यकामा हुने तरुलको कूल कारोबारमध्ये झण्डै ८० प्रतिशत सर्लाहीबाट भित्रिन्छ । बाँकी २० प्रतिशतमा भारत र स्वदेशकै अन्य जिल्लाको उत्पादनले हिस्सा ओगटेको छ ।
कालिमाटी बजारका व्यवसायी भरत खतिवडाअनुसार यो वर्ष बजारमा धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङजा, गोरखा, नवलपरासी, ललितपुरलगायतका जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भित्र्याइएको थियो ।
बजारमा अत्याधिक महँगो मानिएको बन तरुलसहित घर तरुल, हात्ति पाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुल, तराई तरुल नामका तरुलको कारोबार भएको छ ।
वहुउपयोगी गुणको धनी तरुल
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णका अनुसार तरुल निक्कै पोषिलो र वहुउपयोगी खाद्य पदार्थ हो । तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेट, प्रोटिन, मिनेरल्स, इनर्जी, भिटामिन पाइने भएकाले यसलाई पोषिलो खानाको रुपमा लिइन्छ । खानाको रुपमा पनि तरुललाई खान सकिने कर्णको सुझाव छ ।
‘खानाको रुपमा प्रयोग गरिने चामलभन्दा आलुमा बढी पोषण तत्व छ,’ महानिर्देशक कर्णले भने,‘त्यसैगरी तरुलमा पनि चामलभन्दा बढी पोषण तत्व छ । यसलाई खानाको रुपमा प्रयोग गर्दा पनि हुन्छ । वहुउपयोगी गुणको धनी मानिएपनि सर्वसाधारणमा सचेतनाका कारण अझै यसको भरपुर रुपमा उपभोग हुन सकेको छैंन् ।’
खाद्य विभागकाअनुसार तरुलबाट विभिन्न प्रकारका परिकार बनाएर खान सकिन्छ । उसिनेर नुन र खुर्सानीसँग चोपेर खाजाको रुपमा खान सकिन्छ । यस्तै तरकारी र अचारको रुपमा पनि उपभोग गर्न सकिन्छ ।
कर्णका अनुसार तरुललाई सुकाएर पाउडर बनाउन सकिन्छ । यस्तो पाउडरको प्रयोग गरी पाउरोटी, केक, रोटी, चाउचाउ र मिठाई बनाएर पनि खान सकिन्छ ।
प्रतिक्रिया