डिलर कमिसन नबढाए ग्यास उद्योगमा तालाबन्दी गर्ने ग्यास विक्रेताको चेतावनी « Eglish Khabarhub

डिलर कमिसन नबढाए ग्यास उद्योगमा तालाबन्दी गर्ने ग्यास विक्रेताको चेतावनी



काठमाडौं। डिलर कमिसन बढाउनु पर्नेसहित विभिन्न सात बुँदे माग राख्दै ग्यास विक्रेता महासंघ नेपालले आफुहरुको मागमा ध्यान नदिए डिलरको तालाचावी सरकारलाई बुझाउने चेतावनी दिएको छ । मिडिया इन्टरनेशनलमा मंगलबार पत्रकार सम्मेलन गरी संघले विभिन्न सात बुँदे माग अघि सारेको हो ।

महासंघले तत्काल डिलरको प्रमाणीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने, डिलर र डिलरमा काम गर्नेहरुको बीमा गर्नुपर्ने, ग्यासमा लगाइएको भ्याट खारेज गर्नुपर्ने, व्यवसायिलाई लगाइएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग राखेको छ । त्यसैगरी तालिमप्राप्त डिलरले मात्र ग्यास विक्री इजाजत पाउनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर सञ्चालन गर्नुपर्ने र डिलर कमिसन लगानीको ५ प्रतिशत हुनेगरी बृद्धि गर्नुपर्ने माग पनि अघि सारेको छ ।

आफुहरुले अघि सारेका माग पुरा नभए यही पुस २९ गतेदेखि ग्यास उद्योगमा धर्ना तथा तालाबन्दी र आयल निगम घेराउ गर्ने महासंघले चेतावनी दिएको छ । त्यसपछि पनि सरकारले बेवास्ता गरे आफुहरु डिलरको तालाचावी सरकारलाई बुझाउन बाध्य हुने महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । अर्यालका अनुसार ७ बुँदे मागसहितको ध्यानाकर्षण पत्र महासंघले मंगलबार नै नेपाल आयल निगमलाई पनि बुझाएको छ ।

Publish on: