आठ वर्षदेखि अलपत्र परेको तमोर नदीको पुल फागुनभित्रै बन्ने « Eglish Khabarhub

आठ वर्षदेखि अलपत्र परेको तमोर नदीको पुल फागुनभित्रै बन्ने



ताप्लेजुङ । सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र परेको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ ।

ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने उक्त पुलको निर्माण कार्य आगामी फागुन मसान्तभित्रै सक्ने गरी काम भइरहेको तमोर करिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए।

उनका अनुसार अहिले नदीमा पानीको बहाव घटेकाले टेका लगाउनेलगायतका कार्यलाई तीव्र बनाइएको छ ।

‘निर्माणका लागि आवश्यक सबै प्रकारका सामग्री ढुवानी भइसक्यो, चाँडै टेका लगाइसक्ने गरी काम भइरहेको छ, यसपछि पुल जोड्ने काम हुन्छ,’ आयोजना प्रमुख नेपालीले भने ।

दश करोड रुपैयाँको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा निर्माण सम्झौता भए पनि ठेकेदारले समयमा काम नगर्दा निर्माण कार्य अलपत्र परेको थियो ।

अढाइ वर्षभित्रै सम्पन्न हुने गरी कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग निर्माण सम्झौता गरेका थिए । तर ठेकेदारकै लापरबाहीले आठ वर्षसम्म निर्माण कार्य अलपत्र बनेको स्थानीयवासी बताउँछन् ।

निर्माण सम्झौता भएको पाँच वर्षपछि बल्ल वर्षात्को समयमा कामले गति लिँदै गर्दा निर्माणकै क्रममा दुई वर्षअघि बाढीले पुल बगाएको थियो ।

यता सबै सामान ल्याएर समयमा नै काम थालिएकाले यो वर्ष चाहिँ पुल बन्ने छाँटकाँट देखिएको स्थानीयवासीले बताएका छन् ।

‘अहिले हिउँदकै समयमा सामान ल्याएर काम भइरहेको देखियो, अब चाहिँ पुल बन्छ भन्नेमा हामी विश्वस्त छौं,’ स्थानीय सोनाम मोक्तानले भने ।

यसअघि पुल नबन्दा नदी पारिका क्षेत्रमा विकासले गति लिन नसकेको भन्दै स्थानीयवासीले आक्रोश पोखेका थिए ।

अहिले दोभान बजारको वारिसम्म बस, ट्रक, ट्याक्सीलगायतका सवारीसाधन पुग्छन् । तर पारिपट्टिका आधाजसो गाउँमा सडक पुगे पनि पुल नभएकाले त्यहाँसम्म गाडीमा पुगेका यात्रुलाई ओर्लेर हिँड्नु पर्ने बाध्यता छ । अर्कातर्फ झोलुङ्गे पुलबाट सामान तारेको ढुवानी भाडा महँगो तिर्नुपर्ने हुन्छ ।

स्थानीय मजदुरले ५० किलो तौलको बोरा तारेको मात्रै ३० रुपैयाँ लिन्छन् । खुद्रा सामान तारेको प्रतिकिलो एक रुपैयाँ लाग्छ ।

साविकका गाविसहरु निघुरादिन, फूलबारी, हाङ्पाङ, चाँगे, नाल्वु, थुकिमा, लिङ्तेप, खाम्लुङ, सान्थाक्रा, साँघु, ढुङ्गेसाँघु र फाकुम्बामा कच्ची सडक निर्माण भएका छन् । छिमेकी मुलुक चीन र भारतलाई प्रदेश नं १ बाट छोटो दूरीमा जोड्ने तमोर करिडोर पनि यही पुल हुँदै जान्छ भने छोटो दूरीमा नै तेह्रथुम, संखुवासभा, धनकुटा हुँदै धरान, विराटनगरजस्ता प्रमुख शहरसँग ताप्लेजुङ सडक सञ्जालले जोडिने छ ।

Publish on: