सरकारी कोषका ४ खर्ब बढी रकम पुँजीबजार मार्फत परिचालन गरिने « Eglish Khabarhub

सरकारी कोषका ४ खर्ब बढी रकम पुँजीबजार मार्फत परिचालन गरिने



काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै ४ खर्ब ५ अर्ब रुपैयाँ स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ ।

सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा आकर्षित गराउने पहल गरेको हो ।

कोषलाई स्थिररुपमा मात्रै राख्दा त्यसले कुनै पनि मुनाफा नदिएको र लगानीको विस्तारसमेत नभएकाले बजार विस्तारका लागि स्टकले पहल शुरु गरेको हो । स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका उच्च अधिकारीसँग छलफल गरिसकेको जानकारी दिए ।

कर्मचारी सञ्चय कोषसँग २ खर्ब ५० अर्ब रुपैयाँ सञ्चित कोष रहेको छ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ४० अर्ब, नागरिक लगानी कोषसँग चालु आर्थिक वर्षको कात्तिकसम्म ९६ अर्ब ४३ करोड ८३ लाख तथा सामाजिक सुरक्षा कोषमा १४ अर्ब रुपैयाँ रकम रहेको छ ।

नेपाल प्रहरीको कल्याणकारी कोषमा २ अर्ब १९ करोड रुपैयाँ तथा सशस्त्र प्रहरीको कल्याणकारी कोषमा १ अर्ब २७ करोड रुपैयाँ रहेको छ । प्रमुख कार्यकारी अधिकृत साउदले सेना र प्रहरीसँग छिट्टै पूँजी बजारमा लगानीका लागि छलफल गर्ने आन्तरिक योजनामा रहेको बताए ।

‘बजार विस्तारसँगै लगानीमा अभिवृद्धि हुने भएकाले स्टकले सरकारी कोषको रकमलाई परिचालन गर्ने नीतिअनुसार छलफल शुरु गरिएको हो, हामी छिट्टै त्यस्ता कोषको रकमलाई पूँजी बजार विस्तारमा परिचालन गर्न लागेका छौं,’ उनले भने ।

नेपालको पूँजी बजारमा बजार पुँजीकरण करिब १६ खर्ब रुपैयाँको रहेको छ । बजार विस्तार गरी लगानीका थप स्रोतको पहिचान, परिचालनका लागि सरकारी स्थिर कोषको पनि योगदान रहन सक्ने बुझाइमा स्टक रहेको छ ।

साना लगानीकर्ताले मात्रै बजारको विस्तार हुन नसक्ने र बजारको स्थायित्वसमेत हुन नसक्ने भएकाले सबै प्रकारका स्रोत तथा कोषलाई लगानीका लागि परिचालन गर्न लागिएको स्टकको भनाइ छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सामाजिक सुरक्षा कोषमा रहेको रकम पूँजी बजारमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञानको अभावमा पनि परिचालित हुन नसकेको स्टकको बुझाइ छ ।

‘पहिले हामी त्यस्ता निकायसँग छलफल गर्छौं र उनीहरुलाई पूँजी बजारमा जाँदाको फाइदा र लगानी विविधिकरणको विषयमा जानकारी दिन्छौं, आशा छ उहाँहरु पनि पूँजी बजारमा आउनुहुनेछ,’ साउदले भने ।

यस्तै स्टकले ५० करोड रुपैयाँभन्दा माथि कारोबार गर्ने निजी क्षेत्रका संस्थालाई समेत साधारण शेयर जारी गर्ने वातावरण बनाउन लागिपरेको छ । सहज र स्वच्छ व्यावसायिक कारोबारका लागि पनि पछिल्लो दिनमा निजी क्षेत्रका व्यापारिक संस्थाले समेत साधारण शेयर जारी गर्ने तत्परता देखाएका छन् ।

पछिल्लो दिनमा डिस होम नेपाल, शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायतका व्यापारिक संस्थाले पनि साधारण शेयर जारी गर्ने तयारी गरेका छन् ।

वास्तविक क्षेत्रलाई पूँजीबजारमा ल्याइँदै
स्टकले अस्पताल, शैक्षिक संस्था, यातायात कम्पनी, व्यावसायिक संस्था, सेवा क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन पहल शुरु गरेको छ । यस्तै पछिल्ला दिनमा सिमेन्ट उद्योग, केबलकार, उद्योग तथा सेवा क्षेत्रमा लगानी बढेको छ ।

लगानीको मात्रा बढ्दै गएका त्यस्ता वास्तविक क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन आफूहरुले पहल गरेको प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ ।

‘५० करोड रुपैयाँभन्दा बढीका कारोबार गर्ने निकाय ढिलो चाँडो पूँजी बजारमा आउँछन्, हामी सहजीकरण गरिरहेका छौं, वास्तविक क्षेत्र छिट्टै शेयर बजारमा प्रवेश गर्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

बजार विस्तारका लागि विविध स्रोतको परिचालन गर्नु आवश्यक भएको भन्दै स्टकले सानो लगानीले मात्रै आर्थिक समृद्धिको दिशा समात्न नसक्ने हुँदा थप क्षेत्रको खोजी गरिएको जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पूँजी बजारमा सूचीकृत नभएका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा ल्याई नागरिकको पहुँचमा पु¥याउने नीतिगत पहल शुरु गरेको छ ।

पूँजी बजारमा त्यस्ता क्षेत्रको प्रवेशपछि राम्रो मुनाफा आर्जन गरेका निजी क्षेत्रबाट सञ्चालित सेवामूलक क्षेत्र तथा कम्पनीबाट नागरिकले समेत आर्थिक लाभ लिन सक्नेछन् ।

Publish on: