काठमाडौं । सरकारको स्वामित्वमा रहेको मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको व्यवस्थापनमा ग्लोवल टेन्डरबिनै जर्मनी कम्पनी ‘लुफ्थान्सा कन्सल्टिङ’लाई दिन लागिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा बिना कुनै अध्ययन लुफ्थान्सालाई निगमको व्यवस्थापन दिन लागिएको हो ।
विगत देखिनै निगमको व्यवस्थापनमा हात हाल्न लागि परेको ‘लुफ्थान्सा’लाई यसपटक भने अर्थमन्त्रालयकै जोडबलमा व्यवस्थापन जिम्मेवारी दिन अन्तिम कसरत गरिएको छ ।
विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहेका शंकरप्रसाद अधिकारीले सहमतिको लागि अर्थमन्त्रालय पठाएका थिए । ३ महिना अघिदेखि अर्थमा रोकिएको प्रस्ताव केही दिनअघि मात्रै अर्थले सहमति दिएको छ ।
‘पर्यटन सचिब हुँदा अर्थमा स्विकृतिको लागि पठाइएको प्रस्ताव आफु अर्थ सचिब भएपछि सहमति दिएका छन्,’ पर्यटन मन्त्रालय स्रोतले क्लिकमाण्डूसँग भन्यो ।
देउवाका साला प्रदिप राणा मुख्य योजनाकार
प्रधानमन्त्री शेरबहादुर देउवाका नाताले साला पर्ने प्रदिप राणा विगत लामो समयदेखि निगमको व्यवस्थापन लुफ्थान्सालाई दिन लागि परेका थिए । देउवापत्नी आरजु राणाकै वलमा पर्यटन मन्त्रालयबाट सचिव शंकर अधिकारीलाई अर्थमन्त्रालयसमेत पठाइएको थियो ।
विगतमा तत्कालिन पर्यटन मन्त्री दिपकचन्द्र अमात्य रहेको समयमा पनि लुफ्थान्साको प्रस्ताव आएको थियो । विगतमा ग्लोवल टेन्डरमार्फत् मात्रै निगमको व्यवस्थापनको टुंगो लगाउन तत्कालिन संसदको लेखा समितिले निर्देशन दिएपछि प्रक्रिया रोकिएको थियो ।
‘टेन्डरबिना पुन लुफ्थान्सालार्इ नै दिनको लागि अर्थमन्त्रालयले स्विकृत दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वमा गठित समितिले लुफ्थान्सालाई दिन उपयुक्त हुने निष्कर्ष सहित सुझाव दिएको थियो । उनै लामिछानेको समितिले पाँचवटा दुतावास मार्फत निगमको व्यवस्थापनको लागि प्रस्ताव माग गरिएको थियो ।
३५ दिनको म्याद राखेको समयमा जर्मनी लुफ्थान्साको मात्रै प्रस्ताव आएको भन्दै अर्थ मन्त्रालयमा सहमतिको लागि प्रस्ताव पठाइएको थियो ।
३५ अर्ब ऋणको भार कस्को ?
निगम हाल दुईवटा ठूला वाइडबडी जहाज खरिद प्रक्रियामा रहेको छ । निगमसँग ३५अर्ब रुपैयाँ भन्दा बढी ऋणको भार रहेको छ । तर पर्यटन मन्त्रालयले हालसम्म पनि उक्त ऋणको भार लुफ्थान्साले लिने कि नलिनेसम्म टुंग्याइएको छैन् । तर नाफाको भने छुट्याइएको छ ।
‘मुख्य विषयमा छलफल नै भएको छैन, अर्थबाट सहमति आएको छ,’ ती अधिकारीले भने ।
लुफ्थान्साको दुई दशकअघिको बक्यौता बाँकी
लुफ्थान्सा एयरले नेपालमा २ दशकअघि उडान भरेको थियो । जसको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तिर्नुपर्ने बक्यौता १० लाख ६३ हजार ६ सय ४४ रुपैयाँ ६४ पैसा रुपैयाँ हालसम्म पनि तिरेको छैन । लुफ्थान्साले तत्कालिन समयमा जर्मनबाट नेपाल सिधा उडान गरेको थियो ।
यस्तो छ, लुफ्थान्साको प्रस्ताव
लुफ्थान्साले रणनीतिक साझेदारको रुपमा पाएमा वार्षिक नाफाको ३५ देखि ४२ प्रतिशत रकम पाउने छ । कम्पनीले निगमको नाफाबाट पहिलो वर्ष ३५ प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ४२ प्रतिशत रकम आफूले पाउनुपर्ने प्रस्ताव गरेको थियो ।
लुफ्थान्साले ३ वर्षको रणनीतिक साझेदारी शुल्कबापत ६८ करोड ८६ लाख ७६ हजार ४ सय ७१ रुपैयाँ पाउने छ । लुफ्थान्साले पहिलो चरण र दोस्रो चरणको लागि २४ करोड ७६ लाख ५० हजार रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेको छ । भने तेस्रो चरणका लागि ३३ करोड ८६ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
लुफ्थान्सालले पहिलो चरणमा ४ हप्ता निगमको कमजोरी पत्ता लगाउने, दोस्रो चरणमा निगमको पुनर्संरचनाको खाका ५ महिनाभित्र तयार गर्ने र तेस्रो चरणमा काम गर्ने प्रस्ताव गरेको छ ।
लुफ्थान्साले निगमको इन्जिनियरिङ विभाग, अपरेसन विभाग, फाइनान्स विभाग, मार्केटिङ विभाग सम्हाल्ने गरी प्रस्ताव गरेको छ । रणनीतिक साझेदारी गर्न आउने कम्पनीले ग्राउन्ड ह्यान्डलिङको काम भने हेर्न पाउने छैन ।
मन्त्रालयले तत्कालको लागि १० वर्ष निगममा रणनीतिक साझेदार राख्ने गरी प्रस्ताव गरेको भएपनि लुफ्थान्साले पहिलो चरणमा ३ वर्ष र दोस्रो चरणमा थप दुई वर्ष साझेदार बन्नेगरी प्रस्ताव गरेको छ ।
SHARE YOUR THOUGHTS