वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र « Eglish Khabarhub

वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र



खोटाङ । छिमेकी जिल्ला उदयपुर जोड्ने सुनकोशी नदीस्थित वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र परेको छ ।

बराह पोखरी गाउँपालिका–५, पौवासेरा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी जोड्ने झोलुङ्गे पुल ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको हो । निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ महिनामा पूरा गर्ने गरी ठेक्का लिएको झोलुङ्गे पुल निर्माणमा ढिलासुस्ती भएपछि स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।

एक करोड ४३ लाख रुपैयाँको लागतमा पूरा गर्ने गरी ठेक्का लिएको २३० मिटर लम्बाई भएको पुलको हाल दुवैतर्फका जग हाल्नेबाहेकका अन्य कुनै पनि काम हुन नसकेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए।

पुल निर्माणका लागि यसअघि निर्माणस्थलमा ल्याइएका सिमेन्ट सडेर डल्लो परेको छ भने, फलामे डण्डी खिया लागेर बसेको जनाइएको छ । जग पनि झाडीले पुरिसकेको स्थानीयवासीले बताएका छन् ।

आगामी तीन महिनाभित्र पुलको काम पूरा गर्ने गरी काम थालिएको ठेक्का पाएका प्रेम राईले बताए । पुल नहुँदा जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका–१३ वडाका स्थानीयबासी सदियौँदेखि वंशिलाघाटमा डुंगाबाट सुनकोशी वारपार गर्दै आएका छन् ।

वंशिलाघाटको वारिपारि कच्ची सडक बनिसकेको र मालबाहक सवारीसाधन ओहोरदोहोर गरिरहेको भएपनि पुल नबन्दा स्थानीयवासीलाई दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या परेको छ । वंशिलाघाट तराई आउजाउ तथा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीको मुख्य नाका हो ।

Publish on: