काठमाडौं । नविल बैंकका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) अनिल शाहले बैंकलाई ‘एग्रेसिभ ग्रोथ’ तर्फ लाने बताएका छन् ।
पछिल्लो समय बैंकको ग्रोथ कम भएको बताउँदै आफू आएसँगै बैंकले एग्रेसिभ ग्रोथ गर्ने बताएका हुन् ।
बिहीबार बसेको सञ्चालक समितिले शाहलाई डेपुटी सीइओमा नियुक्ति गरेको थियो । आगामी आइतबारदेखि कार्यभार सम्हाल्ने शाहले बताए ।
‘यही आइतबारदेखि बैंकमा हाजिर हुन्छु,’ शाहले क्लिमाण्डूसँग भने, ‘पछिल्ला वर्षहरुमा नविल बैंकको ग्रोथ स्लो छ, अब एग्रेसिभ ग्रोथ गर्नुछ ।’
बैंकिङ क्षेत्रमा तरलता लगायतका समस्याले गर्दा एग्रेसिभ ग्रोथ गर्नु चुनौतिपूर्ण भएको उनको भनाइ छ ।
‘आजको दिनमा बैंकिङ गर्नु भनेको चुनौतिपूर्ण छ, म रिस्क मोल्ने मान्छे हुँ, जे होस् अब बैंकलाई रफतारमा लैजान्छु,’ उनले भने ।
सीइओ हुन नपाएपछि डेपुटी सीइओ
बैंकको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई सीइओमा नियुक्ति गरेको थियो । शशिन जोशीले सीइओबाट राजिनामा दिएपछि बैंकले शाहलाई सीइओ नियुक्त गरेको थियो ।
शाहको नियुक्ती भएको भोलिपल्ट नियामक नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै एक बैंकको सीइओ छाडेको ६ महिनापछि मात्रै अर्को बैंकमा सीइओ बन्न पाइने व्यवस्था गरिदियो । राष्ट्र बैंकको यो परिपत्रले शाह नविल बैंकको सीइओ बन्न पाएनन् । र, माघ १५ गते बसेको सञ्चालक समितिले उनको नियुक्ति खारेज गर्यो । र, ३ दिनपछि अर्थात् माघ १८ बसेको सञ्चालक समितिले शाहलाई डेपुटी सीइओमा नियुक्त गर्यो ।
शाह डेपुटी सीइओ भएपनि कार्यबाहक सीइओको रुपमा बैंकको व्यवस्थापकीय नेतृत्व गर्नेछन् ।
‘राष्ट्र बैंकको नियमले सीइओ बन्न नमिलेपछि डेपुटी सीइओ बनेको हुँ,’ शाहले भने ।
अबको ६ महिनापछि सीइओ नियुक्त गर्ने सहमति अनुसार नै शाहलाई ६ महिनाका लागि डेपुटी सीइओ नियुक्त गरिएको हो ।
तलब भत्ता पनि घट्यो
सीइओको पत्र बुझिसकेका शाह डेपुटी सीइओ भएपछि पदसँगै उनको तलभत्ता पनि घटेको छ ।
‘सीइओ र डेपुटी सीइओको तलबभत्ता र सेवा सुविधा निकै फरक हुन्छ,’ एक सञ्चालकले भने, ‘उहाँले घटेरै भए पनि नियुक्ति लिनुभयो ।’
शाहले पनि सीइओको डेपुटी सीइओको भन्दा सेवा सुविधा र तलब भत्ता कम हुने बताए ।
‘सीइओ भनेको करारमा नियुक्त हुने पद हो, डेपुटी सीइओ भनेको बैंकको दरबन्दीमा अन्तर्गत नियुक्त हुने कर्मचारी हो,’ शाहले भने, ‘सीइओको भन्दा डेपुटी सीइओका तलबभत्ता स्वभाविकरुपमा कम हुन्छ ।’
मेगाबाट सेञ्चुरी, सेञ्चुरीबाट नविल
मेगा बैंकको स्थापनाकालदेखि नै सीइओ भएका शाहले मेगामा सीइओ रहँदाकै अवस्थामा गत पुस १५ गतेदेखि लागू हुनेगरी सेञ्चुरी बैंकमा सीइओको नियुक्ति लिएका थिए । मेगामा कार्यरत रहँदा नै ‘वेटिङ सीइओ’ को रुपमा सेञ्चुरी बैंकका केही कार्यक्रमहरुमा समेत उपस्थित भइसकेका थिए ।
तर, सेञ्चुरी बैंकले शाहलाई दिन तयार भएको तलब बैंकको व्यालेन्सिटको आकारका आधारमा बढी भएको भन्दै राष्ट्र बैंकले घटाउन दबाब दिएपछि उनले नविल बैंकमा नियुक्त लिएका हुन् ।
स्रोतका अनुसार सेञ्चुरीको सञ्चालक समितिले शाहसँग मासिक १२ लाख रुपैयाँ दिने सम्झौता गरेको थियो । तर, राष्ट्र बैंकले ब्यालेसिन्सटको कारण देखाउँदै यही व्यालेन्सिटका आधारमा ८ लाख भन्दा बढी दिन नमिल्ने प्रतिक्रिया दिएको थियो ।
ग्ल्यामर बैंकरका रुपमा परिचित शाहको मेगादेखि सेञ्चुरी र सेञ्चुरी देखि नविल बैंकसम्मको अहलेको यात्रालाई कतिपयले पूर्णव्यावसायिक नभएको भन्दै आलोचना समेत गरेका छन् ।
आठ वर्षअघि नविलको सीइओबाट राजिनामा दिएर शाह मेगा बैंकको सीइओ बनेका थिए । मेगामा दुई कार्यकार विताएपछि उनी डेपुटी सीइओ भएरै पनि नविल फर्किएका हुन् ।
SHARE YOUR THOUGHTS