काठमाडौं । तपाईं ऋणको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने पक्कै पनि तपाईं सस्तो ब्याजदरमा ऋण खोजिरहनु भएको छ । सामान्यतया ऋण लिने भनेको व्यक्ति, सहकारी र बैंकबाट हो ।
तपाईंले बैंकबाट भन्दा सहकारीबाट महंगो र सहकारीबाट भन्दा व्यक्तिबाट ऋण लिँदा महंगो ब्याजदर तिर्नुपर्ने हुन्छ ।
धितो छ र किस्ता तिर्ने भरपर्दो आम्दानीको स्रोत छ भने बैंकबाट नै ऋण लिँदा ब्याजदर धेरै सस्तो छ ।
तर, सबै बैंकले सस्तो ब्याजदरमा ऋण दिँदैनन् । कष्ट अफ फण्ड बढी भएका बैंकहरुको ऋणको ब्याजदर पनि महंगो नै पर्छ । त्यसैले ऋण लिन जाँदा सबैभन्दा कम कष्ट अफ फण्ड भएको बैंक रोज्नुहोस् ।
बैंकहरुले विभिन्न प्रोडक्टमा फरक–फरक ब्याजदर लिन्छन् । तर, कुन बैंकले सस्तोमा व्याज दिन्छ भनेर जान्ने अर्को उपाय भनेको त्यो बैंकको आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्छ ।
राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले प्रकाशित गरेको बेस रेटमा बढीमा ५ प्रतिशत बढाएर मात्रै ऋण दिन पाउँछन् । त्यसैले जुन बैंकको बेस रेट कम छ त्यो बैंकबाट ऋण लिँदा सस्तो पर्छ ।
यो रिपोर्ट बैंकहरुको ०७४ असार मसान्तसम्मको बेस रेटलाई अधार मानेर तयार पारिएको हो । जसअजुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो ब्याज पर्छ । यो बैंकको बेस रेट ५.८० प्रतिशत छ । यसको अर्थ के हो भने अहिले नेपालमा सञ्चालित बैंकहरु मध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तो ब्याजमा ऋण दिन्छ ।
नविल बैंक सस्तो ब्याजदरमा ऋण दिने दोस्रो नम्बरमा पर्छ । यो बैंकको बेस रेट ६.९२ प्रतिशत छ । त्यसैगरी, तेस्रोमा नेपाल बैंक छ । यो बैंकको बेस रेट ६.९३ प्रतिशत ।
त्यस्तै, एभरेष्ट बैंकको ७.८४ प्रतिशत, इन्भेष्टमेन्ट बैंकको ९ प्रतिशत, हिमालयन बैंकको ९.३५ प्रतिशत, एसबीआइ बैंकको ९.५० प्रतिशत, सानिमा बैंकको ९.७१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको बेस रेट ९.७१ प्रतिशत छ ।
माथि उल्लेख गरिएका बैंकहरु सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये कम बेस रेट भएका १० बैंक हुन् । बाँकी १० बैंकको बेस रेट १० प्रतिशतभन्दा माथि छ भने ८ बैंकको बेस रेट ११ प्रतिशतभन्दा माथि छ । सबैभन्दा बढी बेस रेट कृषि विकास बैंकको ११.५३ प्रतिशत छ ।
जसअनुसार तपाईंले सबैभन्दा सस्तोमा स्ट्यान्डर्ड चार्टर्डबाट ऋण पाउनु हुन्छ भने कृषि विकास बैंकबाट सबैभन्दा महंगोमा ऋण पाउनुहुन्छ ।
निक्षेप वृद्धिको तुलनामा बैंकहरुले आक्रमक कर्जा विस्तार गर्दा कर्जा–पुँजी–निक्षेप अनुपात टाइट भएपछि बैंकहरु थप लगानी गर्न सक्ने अवस्थामा छैनन् । राष्ट्र बैंकका नियम अनुसार सीसीडी ८० प्रतिशत हुनुपर्छ । ०७४ पुस मसान्तसम्ममा बैंकहरुको औषत सीसीडी रेसियो ७७ प्रतिशत छ ।
केही बैंकको सीसीडी रेसियो ८९ प्रतिशत बढी छ । ती बैंकले सीसीडी ८० प्रतिशत मेन्टेन गर्न महंगो ब्याजदरमा निक्षेप उठाइरहेका छन् । जसकारण उनीहरुको लागत बढी छ । र, उनीहरुले ऋण पनि महंगो ब्याजदरमै लगाउँछन् ।
Bank | Base rate |
Standard Chartered | 5.80% |
Nabil | 6.92% |
Nepal Bank | 6.93% |
Everest | 7.84% |
Nepal Investment | 9.00% |
Himalayan | 9.35% |
Nepal SBI | 9.50% |
Sanima | 9.71% |
Rastriya Banijya | 9.71% |
Prabhu | 9.71% |
SHARE YOUR THOUGHTS