काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेका छन् ।
नेपाल इन्जिनियरिङ एशोसिएसनको १५ औं राष्ट्रिय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले पेट्रोलियम पदार्थ र विद्युत आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्ने आफ्नो योजना रहेको बताए ।
‘उर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने मेरो संकल्प हो,’ मन्त्री पुनले भने, ‘त्यसका लागि हामीले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्नुपर्ने हुन्छ ।’
उनले १० वर्षमा मुलुकलाई १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताउ“दै त्यसका लागि आयोजना निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउने बताए ।
दक्ष जनशक्तिको व्यवस्थापन र रोजगारी सिर्जनाका लागी पनि सरकारले छिट्टै नयाँ योजना ल्याउने मन्त्री पुनले दाबी गरे ।
माओवादी केन्द्रका वरिष्ठ नेता समेत रहेका पुनले प्रधानमन्त्री केपी शर्मा ओली र देशको राजनीतिक नेतृत्वले देश निर्माणका लागि संकल्प गरेको जानकारी दिदैं त्यसका लागि उर्जा मन्त्रालयले सबैभन्दा बढी योगदान पुर्याउने बताए ।
उनले देश विकास र समृद्धिको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै त्यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग गरेर समृद्ध देश बनाउने जानकारी दिए ।
‘देशमा लामो समयदेखि रहेको संक्रमणकालको अन्त भएसँगै हाम्रो समृद्धिको यात्रा सुरु भइसकेको छ, त्यसका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन सके मात्र त्यसले साँचो अर्थमा राष्ट्र हितमा योगदान पुग्छ’ उनले भने ।
उर्जामन्त्री पुनले कृषिमा आधुनिकीकरण गर्ने र उत्पादन वृद्धि गरेर देशलाई छिट्टै दुई अंकको आर्थीक वृद्धिदर हासिल गर्ने सरकारको संकल्प पूरा गर्ने दिशामा आफूहरु अघि बढिरहेको बताए ।
विकास र समृद्धिको सपना पूरा गर्न दक्ष इन्जिनियरहरुको ठूलो भूमिका हुने उनको धारणा थियो ।
SHARE YOUR THOUGHTS