बिहारमा दारु प्रतिबन्धले नेपालमा भारु फालाफाल !

बिहारमा दारु प्रतिबन्धले नेपालमा भारु फालाफाल !



काठमाडौं । पछिल्लो ३ महिनादेखि भारतीय मुद्रा भारुको माग अप्रत्यासित रुपमा घटेको छ । गत बर्षसम्म प्रतिदिन करिब ५ करोड भारु माग हुने गरेकोमा पछिल्लो ३ महिनायता दैनिक डेढदेखि २ करोड भारुको मात्रै माग हुन थालेको छ ।

सामान्य अबस्थाको तुलनामा अहिले भारु नगदको माग कम भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

‘गत बर्षहरुको भन्दा यस बर्षको केही महिनायता भारुको माग कम भएको भनेर हाम्रो बैंकिङ कार्यालयले जानकारी दिएको छ, अहिले माग कम भयो भन्ने भन्दा पनि मागेजति भारु दिन सक्ने अबस्थामा हामी छौं भनेर बुझ्दा राम्रो होला,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

पौडेलले यसबिषयमा विस्तृत नबताए पनि भारु नगद माग अप्रत्यासित रुपमा किन घट्यो भनेर राष्ट्र बैंकमा छलफल हुन थालेको छ । गत बर्षसम्म भारु नगद कम हुने गरेकोले राष्ट्र बैंकले आफूसँग संचित रहेको अमेरिकी डलर विक्री गरेर नगद भारु समेत ल्याउने गरेको थियो ।

‘अहिले जुन मात्रामा नगद भारुको माग भएको छ, यो अस्वभाविक र अप्रत्यासित छ, के कारणले माग घट्यो भनेर अनुसन्धानै गर्नुपर्ने अबस्था आएकोले हामी त्यसको छलफलमा जुटेका छौं,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

नेपालमा नगद भारुको अभाव हुने गरेपछि गत बर्षदेखि नेपाल राष्ट्र बैंकले भारतको केन्द्रीय बैंक (आरविआइ) सँग विशेष अनुरोध गरेर नगद भारु नेपाल ल्याउन पाइने सीमा बढाएको थियो । तर, आरविआइले यसबर्षको लागि दिएको सीमा अनुसारको भारु ल्याउन नपर्ने देखिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘गत बर्ष हामीले विशेष अनुरोध गरेर चालु आर्थिक बर्ष ६ अर्ब भारु नगद ल्याउने ब्यवस्था मिलायौं, अहिलेसम्म ४ अर्ब भारु ल्याइसकियो, नगद भारुको माग यस्तै रहने हो भने यो बर्षको त कुरै छाडौं, अर्काे बर्षको लागि पनि नगद भारु ल्याउनु पर्दैन जस्तो देखियो,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

किन माग घट्यो भारुको ?
राष्ट्र बैंकका अधिकारीहरुले केही विशेष कारणले गर्दा भारुको नगद माग कम भएको हुन सक्ने अनुमान गरेका छन् । उनीहरुको पहिलो अनुमानमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतको भन्दा सस्तो भएकोले भारतीय गाडीले नेपालमा पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको र यसले बजारमा नगद भारुको आपूर्ति बढाएको अनुमान गरेका छन् ।

अर्काे कारणको रुपमा गत बर्ष ब्यापक मात्रामा भएको सुनको तस्करी र बढेको चाँदी आयातलाई कारण देखाइएको छ । ‘भारतबाट हुने बस्तु आयातमा सुन र चाँदीमा भुक्तानी भएको हुन सक्छ, गत बर्ष चाँदीको आयात बढी भएको र ब्यापक मात्रामा सुनको तस्करी भएकोबाट पनि यसको पुष्टी हुन्छ,’ ती अधिकारीको भनाइ छ ।

केही अधिकारीहरुले भने विहारमा रक्सी प्रतिबन्ध गर्ने सरकारको निर्णयका कारण नेपालमा भारुको आपूर्ति बढेको र यसैकारण राष्ट्र बैंकमा भारु नगदको माग घटेको हुन सक्ने बताएका छन् ।

‘विहारमा रक्सी प्रतिबन्ध भएपछि नेपाली सीमावर्ती क्षेत्रमा यसको ब्यापार बढ्यो, भारतीयहरुले नेपालमा आएर रक्सी खादा भारुमै पैसा तिर्ने गरेका कारण पनि यस्तो भएको हुन सक्छ,’ ती अधिकारीको अनुमान छ ।

बजारमा अहिले अनौठो हल्ला पनि चलेको छ । भारत सरकारले अब १०० भारु दरका पूराना नोट प्रतिबन्ध लगाउने भन्ने हल्ला पछिल्लो समय ब्यापक भएको छ । यही हल्लाका कारण नेपाली बजारमा १०० दरका पुराना भारु नोटको आपूर्ति बढेकोले राष्ट्र बैंककमा माग कम भएको हुन सक्ने आशंका गरिएको छ ।