काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ ।
दोलखाको बिगू गाउँपालिकास्थित सिंगटी, पाचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोशी गाउँपालिका धोवीबजारस्थित लिखूमा बैंकले आफ्ना क्रमश ६७औं, ६८औं, ६९औं र ७०औं शाखा विस्तार गरेको हो ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको बैंकले जानकारी दिएको छ । विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक एक मात्र बैंक रहेको बैंकको भनाइ छ ।
हाल प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा रहेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली शाखा संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
नौ वटा यातायात सम्बन्धी राजश्व संकलन केन्द्र खोलेको बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६२ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १०.६४ अर्ब रुपैयाँ रहेको बैंकको चैत मसान्तको वित्तीय विवरण अनुसार निक्षेप १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी १ सय १८ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक ‘दि बंैकर’, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ‘बैंक अफ दि इयर’ उपाधि ५ पटक प्राप्त गर्ने एक मात्र नेपाली बैंक रहेको छ भने इक्रा नेपालबाट ‘ए’ वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।
SHARE YOUR THOUGHTS