काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट वक्तव्य मार्फत् धितोपत्र व्यवसायलाई मूल्य अभिबृद्धी कर छुट हुने क्षेत्रभित्र समेटेकोमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले खुसी ब्यक्त गरेको छ ।
यो व्यवस्थाले विगत केही बर्षदेखि धितोपत्र दलाल व्यावसायीहरुको धितोपत्र खरिद–बिक्री सेवा बापत प्राप्त हुने आयमा मुल्य अभिवृद्वि कर लाग्ने/नलाग्ने भन्ने द्विविधाको पनि अन्त्य गरेको एसोसिएसनको भनाइ छ ।
‘केही बर्षदेखि मूल्य अभिवृद्वि कर रकम निर्धारण भई असुलीका लागि ताकेता भईरहेको अवस्थामा बजेट वक्तव्य मार्फत् मिनाहा गर्ने घोषणा भएको छ, सरकारको यो कार्य स्वागतयोग्य भएको हाम्रो ठहर छ,’ एसोसिएसनले विज्ञप्ति जारी गर्दै भनेको छ ।
पुरानो बेरुजु बक्यौताको मिनाहा, नयाँ व्यवस्था अनुसार भ्याट छुट हुने वस्तु तथा सेवाको सूचीमा धितोपत्र व्यवसायीलाई राख्ने निर्णय र धितोपत्र ब्यवसायमा ३० प्रतिशत आय कर लागउने ब्यवस्थाले पूँजी बजारमा देखिएको कर अस्पष्टता अन्त्य भएको एसोसिएसनको निष्कर्ष छ । यो ब्यवस्थाले सिङ्गो पूँजी बजारलाई हर्षित बनाएको उसको दाबी छ ।
बजेटमा १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका उत्पादनमुलक कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण भई अनिवार्य रुपमा पूँजी बजारमा सूचिकरण हुनु पर्ने र ५० करोड वा सो भन्दा बढी चुक्ता पूँजी भएका प्राइभेट कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपमान्तरण हुन प्रोत्साहन स्वरुप ३ वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्थाले सम्पूर्ण पूँजी बजारको दायरा फराकिलो बनाउन ठूलो सहयोग पुग्ने एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए ।
प्राइभेट इक्युटी, भेञ्चर फण्ड, हेज फण्ड लगायतका नयाँ सस्थाहरुलाई पूँजी बजारमा प्रवेश गराउँदा बजार भरोसायोग्य, विस्तारित र विश्वसनीय बन्न योगदान पुग्ने एसोसिएसनको भनाइ छ ।
क्षेत्रगत बिविधिकरण, नीतिगत सुधार र प्रविधिको उच्चतम प्रयोगबाट मात्रै समग्र पूँजीबजारको थप बिकास हुने कुरामा सरोकारवाला कसैको दुई मत हुन सक्दैन भन्दै एसोसिएसनले यसका लागि आफूहरु नेपाल सरकार, नियमनकारी निकाय र सरोकारवाला सबै पक्षसँग मिलेर कार्य गर्ने तयार रहेको पनि बताएको छ ।
सम्बृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय महाअभियानलाई सफल बनाउन यो बजेट सार्थक बनोस् बन्ने एसोसिएसनको सदिक्षा छ ।
SHARE YOUR THOUGHTS