काठमाडौं । आन्तरीक राजस्व विभागद्धारा बोनस शेयर र हकप्रद शेयरको लागत मुल्य गणना गरेर लाभकर लगाउने विषयको सेयर लगानीकर्ता संघले आपत्ती जनाएको छ ।
कर मात्र उठाउनु राज्यको अधिकार नभई लगानीकर्ताको लगानीलाई सुरक्षा प्रदान गर्नु पनि राज्यको दायित्व हुन आउने भन्दै संघले आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिगत लाभकरको सिमा ५ प्रतिशतबाट साढे ७ प्रतिशत बनाएको भन्दै करमा बोझ मात्र थप्ने व्यवस्था लागु भएको संघको भनाई छ ।
पूँजीगत लाभकर पूँजी वा लगानीको निसर्गबाट सृजना हुने लाभ या मूनाफामा मात्र कर लगाउने सर्वमान्य सिद्धान्त विपरित आम सर्वसाधारण लगानीकर्ताको हित विपरित लाभ एवं मूनाफा नै नहुने स्थितिमा समेत राज्यले कर लगाउने प्रचलन सायद संसारमै हाम्रो देशमा मात्र प्रथम पटक लागू गरिएको नीति हो भन्ने हाम्रो स्पष्ट बुझाई भएको भनाई संघ छ ।
राज्यले कर आय वा नाफामा मात्र लगाउने प्रचलन हुन्छ । आय वा नाफा नभई राज्यले लिने शुल्कलाई कर नभनी सेवा शुल्क भनिन्छ । यस किसिमको अव्यवहारीक एवं अवैज्ञानीक कर प्रणालीले समस्त पूँजी बजारको बिकासमा नकारात्मक प्रभाब पार्ने पक्का छ ।
यसरी आम लगानीकर्तालाई पटक पटक तर्साउने गरी ल्याइने कर प्रणालीको बिरुद्ध कठोर भन्दा कठोर आन्दोलनको लागि सम्पूर्ण लगानीकर्ताहरुलाई तयार रहन समेत यस संघ हार्दिक अपिल गर्दछ ।


प्रतिक्रिया