कपाल काटेर मनग्य आम्दानी गरेका युवा भन्छन्– सीप सिके युवा विदेशिनु पर्दैन « Eglish Khabarhub

कपाल काटेर मनग्य आम्दानी गरेका युवा भन्छन्– सीप सिके युवा विदेशिनु पर्दैन



चितवन । आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् ।

दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्किएका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार हुनुका साथै आठ जनालाई रोजगारी पनि दिएका छन् ।

विदेशको तापमा भन्दा नेपालमानै सीप सिकेर केही गरौँ भन्ने उद्देश्यका साथ फर्कनुभएका उनले कपाल काट्ने तालिम लिनुभयो । सिग्देलले भने “साधारण तालिम यही लिएँ र डिप्लोमा स्तरको तालीम काठमाडौँमा लिएँ ।” त्यसपछि चितवन फर्किएर आफ्नो व्यवसाय शुरु गरे । भरतपुरको चौबिसकोठीमा कोठा भाडामा लिएर पपुलर युनिसेक्स सैलुन उनले शुरु गरे ।

नेपाल फर्किएपछि तालिम लिनु अघि सिग्देलको एक युवतीसँग प्रेम सम्बन्ध रह्यो र उनलाई पनि ब्यूर्टिपार्लरसम्बन्धी तालिन लगाए । पसल खोलेसँगै सिग्देलले बिहे गरे । उनले पुरुषको कपाल काटे भने श्रीमती सुस्मिता चालिसेले सँगै महिलाको पार्लरसम्बन्धी काम गरिन् ।

झण्डै तीन लाख लगानी गरेको सैलुनले एकै महिनामा एक लाखसम्म बचाउन थाल्यो । पाँच वर्षपछि अहिले उनले नजिकै ठूलो कोठा लिएर उच्चस्तरको सजावटसहितको वातावरण अनुकूलित सैलुन शुरु गरेका छन् । सिग्देलले खुशी हुँदै भने “सजावटमा मात्र रु २० लाख खर्च गरेको छु ।” उनले शैलुनमा महिला पुरुष दुवैको कपाल काट्ने, फेसियल गर्ने, स्टेट पार्ने, मिनी कियर, पेडी कियर, आयल मसाज, डेढलक, हेयर कलर, दाह्री फाल्ने, बेहुला बेहुलीको मेकपजस्ता काम हुने गर्दछन् ।

एउटै कामबाट ३५ हजारसम्म बुझ्ने गरेको भन्दै उनले १०० को दाह्री काट्नेदेखि ३५ हजारको डेढलक गर्नेसम्मका काम गरेको बताए । सँगै डिप्लोमा स्तरको तीन महिने र छ महिने तालिम पनि शुरु गरेको सिग्देलले बताए । तीन महिने तालिमलाई २० हजार र छ महिने तलिमलाई ३० हजार लिने गरेको उनको भनाइ छ ।

व्यवसाय शुरु गरेसँगै आफन्तलाई सीप सिकाउने र काम लगाउने गर्न थालेको सिग्देलले बताउनुभयो । उहाँले भने “आठ जनाले रोजगारी पाएका छन् । उनीहरू भाइबहिनी साली, भान्जीलगायतका रहेका छन् ।” रासस

Publish on: