काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा कार्यरत विभिन्न ५ वटा संघ आईडीपी नेपाल आउन नदिन एकजुट भएका छन् ।
अगस्ट १ तारिखदेखि राजधानीमा विधिवत रुपमा कार्यालय सुरु गर्ने गरी सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको अवस्थामा आईडीपीलाई रोक्न आइतबार राजधानीमा पत्रकार सम्मेलन नै आयोजना गरेर विरोध गरे ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा स्वदेशी लगानीकर्ता नै सक्षम भएकाले विदेशी लगानी आवश्यक नरहेको बताए ।
उनले भने, ‘विदेशी लगानीको हामी विरोधी होइनौ, तर शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा विदेशी लगानी स्वीकार्य छैन ।’ उनले अगाडि थपे, ‘विदेशी संस्था आउँदा विद्यार्थी विश्वविद्यालयमा भर्ना भए वापत बैंकिङ प्रणालीमार्फत आउने कमिसनबाट प्राप्त राज्यलाई प्राप्न हुने राजस्व पनि गुम्नेछ ।’
आईडीपीले अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा र आयरल्याण्ड जस्ता अंग्रेजी भाषा बोलिने देशका लागि काम गर्नेछ ।
आईडीपी जस्तो ठूलो कम्पनीको प्रवेशले साना व्यवसायी बन्द हुने, अहिले पाइराखेको रोजगारी गुम्ने, आईडीपी जस्ता कम्पनीले काम गर्दा विद्यार्थीको तथ्यांक लिकेज हुने सम्भावना रहेकाले आईडीपी कुनै पनि हालतमा नेपालमा आउन नहुने संघहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् ।