काठमाडौं । सरकारले आगामी १० वर्षमा ५० लाखसम्म पर्यटक भित्र्याउन सकिने घोषणा गरेको छ ।
सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने योजना अगाडि सारेको सरकारले आगामी ५ देखि १० वर्ष भित्रमा ५० लाख पर्यटक नेपाल भित्र्याउन सकिने बताएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा आज अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले संयुक्त रुपमा आगामी ५ वर्षको पर्यटन क्षेत्रको समग्र सुधारका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले उत्तर र दक्षिण दुवै तर्फबाट रेलमार्ग निर्माणको प्रक्रिया सुरु भएकाले एकाध वर्षभित्रै रेल चढेरै भएपनि नेपालमा पर्यटकको ओइरो लाग्ने बताए ।
उनले रेल चढेरै १० देखि २० लाखसम्म पर्यटक नेपाल आउने जिकीर गरे ।
उनले नेपाल आउने उडानको संख्या १०० भन्दा माथि पुर्याउनु पर्नेमा जोड दिए । त्यसका लागि विमानस्थलको निर्माण र सञ्चालन तथा आन्तरिक उडानमा समेत विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
यस्तै होटल तथा अन्य भौतिक पूर्वाधारमा समेत जोड दिनुपर्ने उनको भनाइ थियो ।
SHARE YOUR THOUGHTS