तत्काल मर्जर प्रक्रिया नटुङ्ग्याए एभरेष्ट र लक्ष्मी बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने « Eglish Khabarhub

तत्काल मर्जर प्रक्रिया नटुङ्ग्याए एभरेष्ट र लक्ष्मी बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने



काठमाडौं । तत्काल मर्जरको प्रक्रिया नटुङ्ग्याए एभरेष्ट बैंक र लक्ष्मी बैंकलाई नियामक राष्ट्र बैंकले कारबाही गर्ने भएको छ ।

मर्जरको हल्ला चलाएर सेयर बजारमा खेलबाड गरेको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको हो । राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरले दुबैं बैंकका लगानीकर्ता र उच्च व्यवस्थापकलाई तत्काल मर्जर प्रक्रिया टुंगो लगाउन निर्देशन दिएका छन् ।

‘एभरेष्ट र लक्ष्मी बैंकले मर्जरमा जाने हल्ला चलाएर सेयर बजारमा धेरै नै चलखेल गरेको हाम्रो निष्कर्ष हो, त्यसैले दुबैं बैंकका ठूला लगानीकर्ता र उच्च व्यवस्थापकलाई बोलाएर तत्काल मर्जर प्रक्रिया टुंगो लगाउन निर्देशन दिएका छौं,’ राष्ट्र बैंक उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

दुबैं बैंकका ठूला लगानीकर्ताले दुई वर्ष अघिदेखि मर्जरको हल्ला चलाएका छन् । मर्जरमा जानाका लागि दुबै बैंकका लगानीकर्ताले केही प्रक्रिया अघि बढाए पनि अहिलेसम्म टुंगो लगाउन नसकेपछि राष्ट्र बैंकका अधिकारीहरु रुष्ट भएका हुन् ।

‘गभर्नर साबले त ३/४ महिना अघि नै चेतावनी दिइसक्नु भएको थियो, त्यसपछि भने दुई बैंकको मर्ज प्रक्रिया केही दु्रत गतिमा अघि बढेको छ,’ स्रोतले भन्यो, ‘तर, अझै पनि विभिन्न कारण देखाउँदै आलटाल गर्नुको उद्देश्य सेयर बजारमा चलखेल गर्नु नै हो । राष्ट्र बैंकले अब यस्तो चलखेल गर्न दिँदैन ।’

स्रोतका अनुसार राष्ट्र बैंक यी दुई ठूला बैंकको मर्जर गराउन चाहन्छ । यी दुई बैंकको मर्ज भए त्यसलाई मोडल बनाएर अरु बैंकलाई मर्जरमा लैजान सजिलो हुन्छ भन्ने राष्ट्र बैंकका अधिकारीहरुको ठहर छ ।

‘हामीले यी दुई बैंकबीचको मर्जरलाई सक्दो सहयोग गरेका छौं, विदेशीलाई सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्न पनि सहमति दियौं, तर उहाँहरु आलटाल गरेर बजारमा चलखेल गर्नमा बढी तल्लिन भएको आभाष मिलेको छ,’ स्रोतले भन्यो ।

राष्ट्र बैंकका अधिकारीहरुले मर्जरमा जाने वा नजाने के हो त्यसको टुंगो छिटो गर्न निर्देशन दिएका हुन् ।

लक्ष्मी र एभरेष्ट बैंक स्रोतका अनुसार आगामी साता भ्यालुएटर भारतीय कम्पनी इएनवाईले रायसहितको अन्तिम प्रतिवेदन बुझाउँछ । त्यसपछि दुबैं बैंकका लगानीकर्ता बसेर नेगोसेसन गर्ने र नेगोसेयसन मिले तत्काल मर्जरमा जाने, नमिले मर्जर प्रक्रि या रद्ध हुने छ ।

‘एभरेष्ट र लक्ष्मी बैंक मर्जमा जाने वा नजाने टुंगो लाग्न बढीमा दुई/तीन साता मात्रै लाग्छ,’ एभरेष्ट बैंक स्रोतले भन्यो, ‘हामीलाई नियामकको दबाब पनि छ ।’

Publish on: