नाडा अटो शोः विद्युतीय सवारी र साढे २ करोडको जीपले बजारमा नयाँ चर्चा « Eglish Khabarhub

नाडा अटो शोः विद्युतीय सवारी र साढे २ करोडको जीपले बजारमा नयाँ चर्चा




काठमाडौं । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि गर्न लागिएको नाडा अटो शोको तयारी पूरा भएको छ । यसबर्षको अटो शोको मुख्य आकर्षण विद्युतीय सवारी साधन र एमएडब्लुले सार्बजनिक गर्न लागेको जीप हुने देखिएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको नाडा अटो शो २०१८ मा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् । शोमा १९ वटा ब्राण्डका चार पाङग्रे सवारी र २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहने छन् ।

अटो शोमा नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहनेछ ।

यस पटक थप चार ब्राण्डका मोटर साईकल, तीन ब्राण्डको कार थपिएका छन् ।

मेलामा सबैभन्दा बढी आकर्षण विद्युतीय सवारी हुनेछन् । किया, महेन्द्रा, हुन्डाइ र टाटाले विद्युतीय सवारी साधनको विशेष प्रचार प्रसार गर्ने भएका सम्बन्धित कम्पनीहरुले जानकारी दिएका छन् । यस्तै अन्य ब्राण्डका विद्युतीय सवारी साधानको पनि प्रदर्शनी हुनेछ ।

हुण्डाईले पहिलो पटक विद्युतीय सवारी प्रदर्शनीमा राख्दैछ । त्यस्तै टाटाले पनि पहिलो पटक विद्युतीय सवारी प्रदर्शनीमा राख्न लागेको छ । महिन्द्रा र कियाले यसअघि नै नेपालमा विद्युतीय कार बिक्री वितरण शुरु गरेको छन् । अरु केही कम्पनीहरुले पनि विद्युतीय सवारी राख्ने तयारीमा छन् ।

विद्युतीय सवारीलाई पूर्वाधारको अभाव
ब्यवसायीहरुले दिएको जानकारी अनुसार विद्युतीय सवारी साधनको ब्याट्री प्रत्येक ६÷७ बर्षमा फेर्नुपर्छ । व्याट्रीको मूल्य गाडी मूल्यको ३५ देखि ४० प्रतिशत पर्ने बताइन्छ ।

छिटो व्याट्री चार्जको लागि डीसी चार्जर मेसिन आवश्यक हुन्छ । यस्तो मेसिनले फूल चार्ज गर्न करिव एक घण्टा लाग्छ । चिनियाँ डीसी मेसिनको मूल्य करिब २५ लाख रुपैयाँ र यूरोपियनको करिब ४० लाख रुपैयाँ पर्छ ।

यी मेसिन राख्नको लागि बेग्लै ट्रान्समिसन सहितको ७० देखि ८० किलोवाट पावरको विद्युत आपूर्ति हुनुपर्ने ब्यवसायीहरुको भनाइ छ । सबै लागत जोड्दा एउटा डीसी चार्जर राख्न करिव ७० लाख रुपैयाँ लगानी हुने ब्यवसायीहरुले जानकारी दिएका छन् । यस्तो मेसिनले २४ घण्टामा बढीमा २४ वटा गाडी चार्ज गर्न सक्छ ।

जीपको चर्चा उत्तिकै
यो बर्षको नाडा अटो शोको अर्काे आकर्षण जीप हो । एमएडब्लुले नेपाल ल्याएको जीप नाडा अटो शोको अबसरमा नै सार्बजनिक हुनेछ ।

जिप कम्पास
संसारकै पहिलो एसयुभी भनेर चिनिने जिप ब्रान्ड कम्पास अटो शोको मौका पारेर नेपालमा सार्बजनिक हुदैछ । शक्तिशाली अफरोड एसयुभीको सबैभन्दा ठूलो लाइनअप भएको जिप गत वर्ष भारतमा प्रवेश गरेको थियो । पहिलो वर्षमै २६ हजार ओटा विक्री भएर जिप कम्पासले भारतीय अटो क्षेत्रमा तहल्का मच्चाइरहेको छ । त्यहिँ जिप कम्पास यो वर्षको नाडा अटो शोको प्रमुख आकर्षण हुनेछ ।

कम्पास १.४ (मल्टिएयर पेट्रोल) र २.० (मल्टिजेट डिजेल) इन्जिनमा उपलब्ध छ । १.४ लिटरको इन्जिनले १६२ पीएस र २५० एनएमको टर्क उत्पन्न गर्छ भने २.० लिटर इन्जिनले १७३ पीएस र ३५० एनएम टर्क उत्पन्न गर्छ । पेट्रोल इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्स वा ७ स्पिड डीसीटी अटोम्याटिक गियरबक्स छ भने डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल इन्जिन छ । पेट्रोल भेरियन्ट ४बाई२ सेटअपमा मात्र उपलब्ध भने डिजेल भेरियन्ट ४बाई२ र ४बाई४ दुवैमा उपलब्ध छ । कम्पास स्पोर्ट, लंगिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध छ भने यसको मूल्य ६८.५ लाखदेखि ९६.५ लाखसम्म पर्ने बताइएको छ ।

जिप रेंगलर
नेपालमा पहिलो पटक आधिकारिक रुपमा आउन लागेको जिपले आफ्नो लेजेन्डरी मोडेल रेंगलर पनि नाडामा प्रदर्शनीमा राख्ने भएको छ । विश्व बजारमा हेर्ने हो भने जिप रेंगलरको ‘लोयालिटी’ उच्च र फ्यान संख्या तीव्र रुपमा बढ्दो छ । जिप रेंगलरको पहिलो पुस्ता निर्माण भएको दशकौं भइसकेको छ ।

नेपालमा आएको रेंगलर अनलिमिटेडमा २.८ लिटरको इन्जिन रहेको छ । ६ सिलिन्डर भएको यो एसयुभीमा ५ स्पिड अटोम्याटिक गियर छ । अलह्विल ड्राइभ रेंगलरले ६३५० आरपीएममा अधिकतम २०० एचपी शक्ति र ४३०० आरपीएममा अधिकतम ३४० एनएम टर्क उत्पन्न गर्ने बताइन्छ ।

अफरोड किंग रेंगलमा सुरक्षाका लागि ड्राइभर र फ्रन्ट पेसेन्जर एयर ब्याग छन् भने एबीएस विथ इलेक्ट्रोनिक स्टाबिलिटी एन्ड ब्रेक असिस्ट, इमोबिलाइजर, सेक्युरिटी अलार्म, स्टाबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डोर लक, ब्लाइन्ड स्पट डिटेक्सनजस्ता फिचर छन् । लाइफ अटोमोबाइलले यसको मूल्य सार्वजनिक नगरे पनि यसको मूल्य साढे दुई करोड रुपैयाँ हाराहारी हुने अनुमान छ ।

स्कोडा कोडियाक
स्कोडा एमएडब्लुले यस वर्षको नाडा अटो शोमा स्कोडाको पहिलो फुलसाइज्ड एसयुभी कोडियाक सोकेस गर्ने भएको छ । २.० लिटर फोर सिलिन्डर इन्जिन भएको यो सेभेनसिटरमा सेभेनस्पिड डिएसजी अटोमेटिक गियर बक्स रहेको छ । कोडियाको डिजेल इन्जिनले अधिकतम १४८ बीएचपी शक्ति र ३४० एनएम टर्क उत्पन्न गर्छ ।

स्कोडा कोडियाकमा अलह्विल ड्राइभ र बर्ग वार्नर अनडिमान्ड ४बाई४ सिस्टम रहेको छ । यो एसयुभी ४,६९७ एमए लामो, १८८२ एमएम चौडा र १६६५ एमएम अग्लो छ भने यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ । कोडियाकको बुटस्पेस २७० लिटर छ, जसलाई दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर २००५ लिटरसम्म पुर्याउन सकिन्छ ।

आधुनिक युरोपियन डिजाइन रहेको कोडियाकमा स्कोडाको बटरफ्लाई ग्रिल रहेको बताइएको छ । यसमा फुल लिड हेडलाइट र कर्नरिंग लाइट समेत रहेको छ । १८ इन्चको एलोइ ह्विल रहेको कोडियाकमा थ्रि डि लुक दिने टेलल्याम्प रहेको छ । यसमा ८ इच्नको टकस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२ वटा स्पिकर भएको ७५०डब्लु क्यान्टन अडियो सिस्टम छ ।

अन्य सुविधाहरुमा पानोरामिक सनरुफ, मल्टिपल स्टोरेज स्पेस, अम्ब्रेला, डोर प्रोटेक्टर र म्याग्नेटिक टर्च आदि हुन् । भर्चुअल पेडल यसको अर्को विशेषता हो, जसको सहयोगमा हातको सहयोगविनै खुटा उठाएर बुट खोल्न सकिनेछ । सुरक्षाका लागि यसमा ९ वटा एयरब्याग, इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल लक, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक पार्किंग ब्रेक आदि छन् ।

Publish on: