काठमाण्डौ । सन् २०१८ अक्टोबर १–७ अर्थात यही असोज १५ गतेदेखि २१ गतसम्म नेपालमा पनि विश्व लगानीकर्ता सप्ताह विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ ।
धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (आइओएससीओ) को आह्वान तथा नेपाल धितोपत्र बोर्डको संयोजनमा कार्यक्रम हुन लागेको हो । सो विश्व लगानीकर्ता सप्ताहको आवश्यक तयारी पूरा भएको बोर्डले जनाएको छ ।
विश्व लगानी सप्ताहको मुख्य उद्देश्य
विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य पूँजीबजार सम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गरी पूँजीबजार सम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको शसक्तिकरण गर्ने रहेको बताइएको छ ।
कुन मितिमा के के कार्यक्रम हुँदैछ ?
असोज १५, धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी प्रभात फेरी हुनेछ भने असोज १७ गते पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरुमा भएका पहलहरु पत्रपत्रिकामा प्रकाशन गरिने बताइएको छ ।
त्यसैगरी सर्वसाधारण लगानीकर्ता प्रशिक्षण कार्यक्रम र बोर्डको पुर्नसंरचित लगानीकर्तामैत्री वेबसाइट तथा बजारमा सहभागीहरु समेतको सहभागीतामा प्रत्येक तीन महिनामा लगानीकर्ताहरुसंग अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गरिने छ ।
असोज १८ नियमन निकाय, नेपाल स्टक एक्सचेञ्ज लि.तथा सिडिएस एण्ड क्लियरिङ्ग लि.का उच्च पदस्त कर्मचारी र धितोपत्र व्यवसायी, प्रबुद्ध लगानीकर्ता तथा पूँजीबजार विज्ञलाई सम्लग्न गराई टेलिभिजन मार्फत अन्र्तवार्ता\अन्तरक्रिया कार्यक्रम प्रसारण गर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
यसैगरी, असोज २० गते लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धिका लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम सञ्चालनको शुरुवात गर्ने जनाइएको छ ।
असोज १९ र २० गते प्रदेश १ को विराटनगरमा प्रथम प्रादेशिक पूँजीबजार प्रदर्शंनी सञ्चालन गर्ने गर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ । सो प्रदर्शनीमा धितोपत्रबजार औजार तथा सेवा सम्बन्धी कम्तीमा १०० स्टल मार्फत् धितोपत्र बजारका विविध पक्षहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने गराइने छ ।
साथै धितोपत्र बजार, वास्तविक क्षेत्र, आर्थिक विकास तथा बृद्धि र धितोपत्र व्यवसायी सेवाः नेपालको सन्दर्भ सम्बन्धमा दुई प्राविधिक सत्रको व्यवस्थापन र बोर्डका प्रकाशनहरुको निःशुल्क वितरण गर्ने र एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको बोर्डद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
SHARE YOUR THOUGHTS