सेलवेज डिपार्टमेन्टमा अनुगमन टोलीले चिनी, दाल र गेडागुडी बिक्री बन्द गरायो « Eglish Khabarhub

सेलवेज डिपार्टमेन्टमा अनुगमन टोलीले चिनी, दाल र गेडागुडी बिक्री बन्द गरायो



काठमाडौं । सातदोबाटोमा रहेको सेलवेज क्यास एण्ड क्यारी डिपार्टमेन्ट स्टोरले बिक्री वितरण गरेका केही खाद्य सामाग्रीको बिक्री बितरणमा रोक लगाइएको छ ।

अनुगमन टोलीले प्याकिङ नगरी चिनी, दाल तथा गेडागुडीहरु बिक्री गरेको फेला पारेपछि ती खाद्यान्न बिक्री गर्न रोक लगाइएको हो ।

अनुगमनमा टोलीले खाद्य उद्योग अनुज्ञापत्र नलिई खाद्य पदार्थहरु विक्री वितरण गरेको भन्दै सो डिपार्टमेन्ट स्टोरमा रहेका खाद्य सामाग्रीहरु विक्री वितरणमा रोक लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय ललितपूर, ललितपूर महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपूर, उपभोक्ता हित संरक्षण मञ्च ललितपूर, घरेलु तथा साना उद्योग कार्यालय ललितपुर र उद्योग बाणिज्य संघ ललितपूरको संयूक्त टोलीले अनुगमन गर्ने क्रममा उक्त स्टोरले खाद्य अनुज्ञा पत्र नलिई खाद्य सामाग्री विक्री वितरण गरेको पाइएको हो ।

उक्त स्टोरलाई खाद्य अनुज्ञापत्र लिएपछि मात्र बिक्री गर्ने गरी हाललाई उक्त खाद्य पदार्थहरु विक्री वितरणमा रोक लगाइएको वस्तीले बताए । उनले अनुज्ञापत्र नलिएसम्म थप अनुसन्धानको प्रकृया अघि बढाइएको समेत बताए ।

Publish on: