सेयर बजारका महंगा कम्पनी बोटलर्स नेपाल र यूनिलिभर, जसले सेयर मूल्यको अनुपातमा दिंदैनन् लाभांश « Eglish Khabarhub

सेयर बजारका महंगा कम्पनी बोटलर्स नेपाल र यूनिलिभर, जसले सेयर मूल्यको अनुपातमा दिंदैनन् लाभांश



काठमाडौं । लगानीकर्तामा महङ्गा कम्पनीको सेयर खरिद गर्न चाहना हुन्छ । राम्रा कम्पनीको सेयर किनेर धेरै नाफा कमाउने सपनापनि हुन्छ । लगानीकर्ता माझ महङ्गा कम्पनीको सेयर खरिद गरेर प्रतिष्ठित हुने इच्छापनि पालिएको हुन्छ ।

तर, हामी कहाँ दोस्रो बजारमा त्यस्ता कम्पनीको लाभांश वितरण भने न्यून देखिएको छ । जसले महङ्गा कम्पनीको सेयर किनेकाहरुलाई निराश बनाइरहेको छ ।

सेयर मूल्यको तुलनामा कम प्रतिफल दिने कम्पनीमा बोटलर्स नेपाल (नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी) तथा युनिलिभर नेपाल रहेको छ ।

आर्थिक बर्ष ०७४÷०७५ को नाफाबाट कोकाकोलाको उत्पादन गर्ने नेपाली कम्पनी बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई नाम गरेका दुबै कम्पनीले गएको हप्ता सेयर लगानीकर्तालाई लाभांशको प्रस्ताव सार्वजनिक गरे ।

यसरी प्रस्ताव गरिएको लाभांश गएको बर्षको तुलनामा वृद्धी भएको जस्तो देखिएपनि हालको बजारको अवस्थामा उक्त लाभांश न्यून रहेको छ ।

नगद लाभांश भने बोटलर्स नेपाल तराईले ४० र बोटलर्स नेपालले २० प्रतिशत प्रस्ताव गरेका हुन् । यो भन्दा अगाडि सोही कम्पनीले क्रमशः २५ र २० प्रतिशत लाभांश दिएका थिए ।

यस्तै, नेपाली बजारमा युलिभर कम्पनीलाई महङ्गो कम्पनीको रुपमा चिनिन्छ । सोही कम्पानीको सेयरलाई दोस्रो बजारमा ब्लूचिप्सपनि मानिन्छ । सो कम्पनीलेपनि अघिल्लो हप्ता लाभांश घोषणा गर्यो ।

भारतको मुम्बईमा बसेको कम्पनीको बोर्ड बैठकले लाभांश घोषणा गरेको हो । हाल ७ सय प्रतिशतको लाभांश घोषणा छ, सो गएको बर्षको तुलनामा लगभग आधाले नै घटेको हो ।

गएको बर्षमा युनिलिभर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४ हजार भन्दा माथि थियो । हाल सो कम्पनीको सेयर मूल्य २४ हजार ७ सय ९९ रुपैयाँ कायम छ । कम्पनीले सेयर धनी लगानीकर्तालाई हकप्रद र बोनश दिदैन ।

लाभांश बापत पाइने ७ सय रुपैयाँ लिनको लागि लगानीकर्ताले २५ हजार रुपैयाँ हाल्न्ु पर्छ । यस्तो अवस्थामा प्राथमिक बजारबाट सेयर लिंदा लगानीकर्तालाई केही नाफा हुन्छ । तर, यी कम्पनी पुराना कम्पनी भएकाले प्राथमिक सेयर हुने लगानीकर्ता नै निकै कम छन् ।

यी कम्पनीको प्राथमिक सेयरमा लगानी गर्दा फाइदा हुने भएपनि अहिले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले सामान्यतया हाईड्रो पावर कम्पनी अथवा फाइनान्स कम्पनीको जतिपनि प्रतिफल पाएका छैनन् ।

युनिलिभरको सेयर खरिद गर्न लाखौ खर्चिएपनि लगानीकर्ताले त्यसबाट कम लाभांश पाउँछन् । यसरी हेर्दा महङ्गा कम्पनीको प्रतिफल नै कम हुन जान्छ । आजभोलि बजारमा १०० को हाराहारीमा रहेका फाइनान्स कम्पनीले समेत १२ प्रतिशतसम्म लाभांस दिइरहेको अवस्था छ ।

बोटलर्स नेपाल तराईको सेयर मूल्य प्रतिकित्ता ७ हजार भन्दा माथि रहेको छ । लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत लाभांश मात्र पाउने अवस्था छ । यसरी दोस्रो बजारमा लगानीकर्ताले महङ्गोमा सेयर किन्दा कम्पनीले प्रस्ताव गरेको लाभांश अनुपात न्यून प्रतिशतमा नै सीमित हुने अवस्था रहेको छ ।

Publish on: