माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण « Eglish Khabarhub

माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण



काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवंसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द« अधिकारीले गरेका छन् । पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको मन्त्री अधिकारीले प्रशंसा गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्व कै हिन्दूहरुको महान् तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको बताए ।

बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घर निर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् ।

विद्युतीय टेम्पो सेवा

यसैबीच, पशुपतिको मूल मन्दिर क्षेत्रमा सवारीसाधन निषेध गरेपछि अशक्त, वृद्धवृद्धालाई दर्शन गर्न जान समस्या भएकाले आजैदेखि दुईवटा विद्युतीय टेम्पो पनि सञ्चालनमा ल्याइएको छ । लक्ष्मी बैंकसँगको सहकार्यमा यो सेवा शुरु गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

अशक्त, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धाले निःशुल्क विद्युतीय टेम्पोको सेवा लिन सक्नेछन् । सफा टेम्पो सेवा चार शिवालयबाट दक्षिणढोकासम्म सञ्चालन गरिने कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए ।

सफा टेम्पो लक्ष्मी बैंकका पूर्व अध्यक्ष राजेन्द्र खेतान र प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले संयुक्त रुपमा कोषलाई हस्तान्तरण गरे ।

मूल मन्दिर क्षेत्रमा भूकम्पले भत्किई पुनःनिर्माण सम्पन्न भएको कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर र घ्याम्पेपाटीको पनि आजै मन्त्री अधिकारीले शुभारम्भ गरे ।

भूकम्पले पशुपति क्षेत्रका ९५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए । क्षति भएकामध्ये हालसम्म १८ सम्पदा बनिसकेको छ भने २६ वटाको पुनःनिर्माण जारी रहेको कोषले जनाएको छ ।

विश्वरुपलगायत ठूला सम्पदा पुनः निर्माणको बजेट व्यवस्था मिलाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग वार्ता भइरहेको सदस्य सचिव डा ढकालले जानकारी दिए ।

Publish on: