प्रदेश राजधानी हेटौंडामा विकासको आधारपत्र निर्माण सम्वन्धी सोच कार्यशाला « Eglish Khabarhub

प्रदेश राजधानी हेटौंडामा विकासको आधारपत्र निर्माण सम्वन्धी सोच कार्यशाला



हेटौंडा । ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा भएको २ दिने प्रदेश विकासको आधार पत्र निर्माण सम्वन्धी सोच निर्माण कार्यशाला हेटौंडामा सम्पन्न भएको छ ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता तथा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यशालामा प्रदेशको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वन तथा वातावरण र संस्थागत विकासका विविध आयामहरु र विभिन्न उपक्षेत्रगत बिषयमा छलफल भएको थियो ।

छलफलमा प्रदेशको बिषय क्षेत्रगत वस्तुस्थिति तथा अधिकारक्षेत्र, विकासका सम्भावना र चुनौतिहरुको पहिचान तथा विश्लेषण गरिएको थियो । छलफलमा प्रदेश विकासको सोच, बिषयक्षेत्रगत विकासका लक्ष्य र उद्देश्यहरुको खाका तयार गरिएको छ ।

कार्यशालापछि प्रदेशका विभिन्न भागमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरु एवं विषयविज्ञ्सँग थप परामर्श र छलफल गरी प्रदेश नं. ३ को विकासको आधारपत्रलाई अन्तिम रुप दिने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. देबकोटाले बताए ।

कार्यशालामा प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री केशव स्थापित, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, आयोगका सदस्य श्याम वस्नेत, प्रदेशसभाका सदस्यहरु, प्रमुख सचिव आनन्दराज ढकाल, मन्त्रालयका सचिवहरु, महाशाखा तथा शाखा प्रमुखहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमा प्रदेश विकासकोे बिषयक्षेत्रगत अवस्थाको विश्लेषण सहितको प्रस्तुति पनि गरिएको आयोगका निमित्त सचिव आत्मराम सत्यालले जानकारी दिए ।

कार्यशालामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, प्रा.डा. पिताम्वर शर्मा, नेपाल सरकारका पूर्व सचिव पूर्णचन्द्र भट्टराई, राष्ट्रिय योजना आयोगक पूर्व सदस्य डा. गोविन्द नेपाल, डा. दिनेश भुजु, जगन्नाथ अधिकारी, शोभा लामा, परशुराम उपाध्यायले बिषयक्षेत्रगत प्रस्तुति तथा कार्यशालाको सहजीकरण गरेका थिए ।

Publish on: