नेकपा बरिष्ठ नेता माधव नेपाल भन्छन्ः नेपालमा वर्षमा २ अर्ब पर्यटक भित्रन सक्छन् « Eglish Khabarhub

नेकपा बरिष्ठ नेता माधव नेपाल भन्छन्ः नेपालमा वर्षमा २ अर्ब पर्यटक भित्रन सक्छन्



रौतहट । नेपालमा वार्षिक दुई अर्ब पर्यटक भित्रिन सक्ने सम्भावना रहेको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

गृह जिल्ला रौतहटको गरुडामा दशैँ, दीपावली, छठ तथा नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले नेपालमा वर्षेनी आउने पर्यटकको संख्या अन्य पर्यटकीय देशहरुको तुलनामा कम भएकोले देशका नेताहरुले आपसी झगडा र मनोमालिन्यलाई छोडेर विकासतिर ध्यान दिए देशमा वर्षेनी दुई अर्ब पर्यटक आउने सम्भावना रहेको बताएका छन् ।

देशमा हिन्दूका आराध्य देव पशुपतिनाथ र जानकी मन्दिर रहेको, बौद्ध धर्मावलम्बीको लागि लुम्बिनी रहेको, पर्यटनको अपार सम्भावना रहेको तथा विश्वको दोस्रो ठूलो जलसम्भावना रहेको देशले ठूलो उपलब्धि हासिल गर्ने सम्भावना रहेको बताएका छन् ।

नेपालबाट बंगलादेशले ४० हजार मेगावाट विद्युत माग गरिरहेको वर्तमान अवस्थामा विद्युतको कारणले पनि देश समृद्धितिर जान सक्ने बताएका छन् । देशमा नेकपाको दुई तिहाईको बहुमतको सरकार रहेकोले अब समृद्धिको बाटो उक्लिने नेता नेपालले बताएका छन् ।

देशका ७ प्रदेशमध्ये ६ प्रदेशमा नेकपाको सरकार रहेको र प्रदेश २ मा पनि नेकपा सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको बताउँदै प्रदेश २ मा आवश्यक परे नेकपाको सरकार बन्ने सम्भावनातर्फ संकेत गरेका छन् ।

Publish on: