काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही कात्तिक १५ गतेदेखि आम सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । दशैंमा कम खर्च गरेर पैसा जोगाउनु भएको छ भने तपाईका लागि सो आयोजनाको शेयर खरिदमा थप सहज हुनेछ ।
किनकि सो आयोजनाले शेयर खरिद गर्न चाहनेलाई न्यूनतम ५० कित्ता अर्थात् ५ हजार रुपैयाँदेखि अधिकतम १ हजार कित्ता अर्थात् १ लाख रुपैयाँसम्मको शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।
दशैं र तिहारको छेको पारेर आयोजनाले साधारण शेयर बिक्री गर्न लागेको हो । आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ ।
शेयर खरिद प्रक्रियामा यस अघि सहभागी भएकालाई भने आम सर्वसाधारणको रुपमा शेयर खरिद गर्न पाउने छैनन् । जस्तो कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका रुपमा यस अघि नै शेयर खरिद गरेकाले यस पटक आवेदन दिन पाउने छैनन् । उनका परिवार, आफन्त, नाता गोताकाले भने सहजै रुपमा शेयर खरिद गर्न पाउँछन् ।
यस्तै नेपाल विद्युत् प्राधिरकणका कर्मचारी, ऋण लगानीकर्ता कम्पनीका कर्मचारीले पनि यस पटक शेयरमा आवेदन गर्न पाउने छैनन् । कर्मचारी सञ्चय कोषले सो आयोजनामा ऋण लगानी गरेको छ । कोषका कर्मचारीले पनि सर्वसाधारणको रुपमा शेयर लगानी गर्न पाउने छैनन् ।
त्यसबाहेक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलका कर्मचारीले यसअघि शेयरमा आवेदन नगरेको भए आवेदन दिन पाउनेछन् । तर एउटै प्रकृतिको धितोपत्र एउटै व्यक्तिले भने खरिद गर्न पाउने छैनन् ।
आयोजनाले एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्न लागेको छ ।
दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ ।
यस्तै, आयोजना प्रभावित दोलखाबासीका लागि गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री गरिसकेको छ ।
तेस्रो चरणमा आयोजनाले आम सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । धितोपत्र निश्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुनेछ ।
कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।
पुसमा सकिदैन आयोजना
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणले आयोजना आगामी पुसको मसमान्तमा सकिने बताएका थिए । सोही अनुसारको निर्देशन समेत दिइएको थियो ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डले आयोजना तोकिएको समय भन्दा पहिले सकिए पुरस्कार दिने घोषणा समेत गरेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा आयोजना स्थलमा नै सञ्चालक समितिको बैठक समेत बसाइएको थियो ।
आयोजनाका प्रमुख तथा कर्मचारी, ठेकेदारलगायतलाई आवश्यक निर्देशन समेत दिइएको थियो । तर आयोजनाको काम आगामी पुस मसान्तसम्म सकिने बताइएपनि भारतीय ठेकेदार टेलम्याकोका कारण नसकिने अवस्था आएको छ ।
ठेकेदारले दुई वटा ठाडो सुरुङमा जडान गर्ने भनिएको ठूला पाइप आयात नै गर्न सकेको छैन । आयोजनाको सुरुङ ्िभत्र दुई वटा क्रमशः ३१० मिटर र ३७० मिटर लामा डाठो सुरुङ रहेका छन् । सोही सुरुङमा स्टिल लाइनिङको काम बाँकी रहेको छ । सो काम सक्न नै अझै न्यनतम ३ महिना लाग्ने देखिएको छ ।
आयोजना निर्माण सम्पन्न भएपछि बर्षाको समयमा भारतबाट आयात हुने विद्युत् आयात कम गर्न सकिने अवस्था रहेको छ ।
आयोजनाको परीक्षण उत्पादन आगामी पुससम्ममा गरिसक्ने तयारी भएपनि अहिले सो मिति सारिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए । उनले आगामी असार मसान्तसम्ममा परीक्षण उत्पादन गर्न सकिने गरी तयारी गरिएको बताए ।
‘पुस मसान्तसम्ममा परीक्षण उत्पादन गर्ने भनेका थियौं, निर्धारित समयभित्रमा नसकिने भयो, असार मसान्तसम्ममा परीक्षण उत्पादन गर्न सकिन्छ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।
ब्यवसायिक उत्पादनको लागि अझै १ बर्ष लाग्ने
माथिल्लो तामाकोशी आयोजनाको विजुली ब्यवसायिक उत्पादनको लागि भने अझै एक बर्षजति कुर्नुपर्ने भएको छ । आयोजनाले बनाएको कार्यतालिका अनुसार नै काम भएपनि विजुलीको ब्यवसायिक उत्पादन सुरु हुन अझै एक बर्ष जति लाग्ने आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।
‘असार मसान्तसम्ममा परीक्षण उत्पादन गर्ने भनेर लागेका हौं, ब्यवसायिक उत्पादनको लागि ‘टेष्ट रन’ गर्नुपर्ने हुन्छ, आयोजनामा ६ वटा युनिट छन्, प्रत्येक युनिटको टेष्ट रन गर्न १५ दिन मात्रै समय लाग्यो भने पनि थप ३ महिना लाग्छ, त्यसैले अर्काे दशैं वा तिहारतिरबाट ब्यवसायिक रुपमा विद्युत उत्पादन गर्न सकिन्छ होला,’ श्रेष्ठले भने ।
१० हजार दोलखालीले मात्रै किनेन शेयर
आयोजना प्रभावित दोलखाबासीको लागि सार्बजनिक गरिएको शेयरमा दोलखालीले उत्साहजनक सहभागिता देखाएका छन् । माथिल्लो तामाकोशी आयोजनाको शेयर किन्न योग्य दोलखालीमध्ये जम्मा १० हजार मात्रै शेयर खरिद प्रक्रियामा नपरेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
‘२०६८ सालनको जनगणना अनुसार २ लाख ८५ हजार दोलखाबासी आयोजनाको शेयर भर्नको लागि योग्य देखिएका थिए, त्यसमध्ये २ लाख ७५ हजार दोलखावासीको सहभागिता रह्यो, यो सहभागिता वास्तबमै उत्साहप्रद हो,’ श्रेष्ठले भने ।
SHARE YOUR THOUGHTS