जलविद्युतमा विदेशी लगानीः अर्थले सहमति दिए चीनबाट १२ अर्ब ऋण आउने « Eglish Khabarhub

जलविद्युतमा विदेशी लगानीः अर्थले सहमति दिए चीनबाट १२ अर्ब ऋण आउने




काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले नेपाली जलविद्युत क्षेत्रमा विदेशी ऋण ल्याउने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले एशियाली विकास बैंक (एडीबी) बाट करिब ६ अर्ब रुपैयाँ (५० मिलियन अमेरिकी डलर) बराबरको ऋण लिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

एडीबीबाट ऋण लिनको लागि सम्झौता हुने चरणमा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।

‘एडीबीबाट ऋण लिने सम्बन्धमा सबै गृहकार्य करिब सकिएको छ, अहिले हामी सम्झौताको चरणमा छौं,’ पोखरेलले भने ।

एडीबीले ‘लाइन अप क्रेडिट’ अन्तरगत सहुलियत ब्याजदरमा नेपाली जलविद्युत क्षेत्रमा लगानी गर्ने गरी ऋण दिन लागेको हो । एडीबीबाट लिइने ऋण लगानीमा आयोजना छनोट गरेर सन् २०२० देखि निर्माण प्रक्रिया सुरु हुने पोखरेलले जानकारी दिए ।

‘एडीबीबाट लिइएको ऋण जलविद्युत क्षेत्रमा लगानी गर्ने हो, आयोजना हामीले नै छनोट गर्छाैं, सन् २०१९ सम्ममा सम्झौता पनि गरिसक्ने र आयोजना पनि छनोट गर्ने तथा सन् २०२० देखि आयोजना निर्माणको काम सुरु गर्ने गरी गृहकार्य गरिरहेका छौं,’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने ।

यस्तो ऋण भुक्तानीको अबधि १५ बर्षको हुने र ऋणको ब्याज बढीमा बार्षिक २ प्रतिशत हुनेछ । यो ऋणले कुन आयोजना बनाउने भन्ने बारेमा कम्पनीले अझै यकिन गरिसकेको छैन । कम्पनीले निजी तथा सरकारी लगानीका आयोजनामा लगानी गर्ने गरेको छ । एडीबीबाट लिइने ऋण पनि यही मोडालिटीमा परिचालन गर्ने तयारी कम्पनीको छ ।

अर्थले स्वीकृति दिए चीनबाट १२ अर्ब ऋण
कम्पनीले चिनियाँ बैंकबाट ऋण ल्याउनको लागि पनि गृहकार्य थालेको छ । पहिलो चरणमा चीनको इन्डष्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना (आइसीबीसी) बाट ऋण ल्याउनको लागि प्रक्रिया अगाडि बढेको जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

‘हामीले पहिलो चरणमा कमर्शियल ऋण लिनको लागि चीनको आइसीबीसीलाई पत्राचार गरेका छौं, उसले अर्थमन्त्रालयको स्वीकृति लिएर पत्राचार गर्न हामीलाई जवाफ फर्काएको छ, अर्थमन्त्रालयसँग छलफलमै छौं, अर्थले स्वीकृति दिने वित्तिकै आइसीबीसीलाई पत्र पठाएर प्रक्रिया अगाडि बढाउँछौं,’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने ।

कम्पनीले आइसीबीसीबाट करिब १२ अर्ब (१०० मिलियन अमेरिकी डलर) ऋण लिनको लागि प्रक्रिया अगाडि बढाएको हो । यस्तो ऋणको ब्याज कम्तिमा ३ प्रतिशत र बढीमा ६ प्रतिशतसम्म हुने बताइएको छ ।

कम्पनीले चीनका अन्य बैंक वित्तीय संस्थाहरुबाट पनि ऋण लिने योजना बनाएको छ । तर, पहिलो चरणमा भने आइसीबीसीबाट १०० मिलियन डलर ऋण लिन कम्पनी गृहकार्यमा छ ।

एडीबीसँग ऋण लिनको लागि कम्पनीले आयोजना देखाउनु पर्दैन । तर चिनियाँ बैंकले भने आयोजना किटान गरेर ऋण लिने गरेका छन् । यसैकारण कुन आयोजनाको लागि ऋण लिने भनेर आयोजना छनोट गर्ने गृहकार्यमा पनि कम्पनी छ ।

Publish on: