काठमाडौं । बीमा समितिले बिदेशी बीमा कम्पनीका शाखा कार्यालयहरुले नेपालमा गरेको बीमा ब्यवसाय र उसले बहन गर्नुपर्ने दायित्वका बिषयमा अध्ययन थालेको छ ।
बिदेशी बीमा कम्पनीका शाखा कार्यालयहरुले नेपालमा निर्धक्कसँग ब्यवसाय गरेको र पूँजी चुक्ता पूँजी नभएका कारण कुनै समस्या आउछ कि आउदैन भनेर नियामक निकाय बीमा समितिले अध्ययन थालेको हो ।
‘वर्किङ क्यापिटल’का रुपमा ५ लाख रुपैयाँ लिएर आएका बिदेशी कम्पनीका शाखालाई ब्यवसायमा कुनै सीमा तोकिएको छैन, दायित्व भुक्तानीको लागि यसले भबिष्यमा कुनै समस्या सिर्जना गर्छ कि गर्दैन भनेर हामीले अध्ययन गरिरहेका छौं,’ समितिका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने ।
बिदेशी बीमा कम्पनीको शाखाको रुमपा नेसनल, ओरेन्टल र मेट लाइफ एलिकोले नेपालमा बीमा ब्यवसाय गरिरहेका छन् । यी तीनवटै कम्पनीको चुक्ता पुँजी तोकिएको छैन । स्वदेशी बीमा कम्पनीमा जिबन बीमा कम्पनीले कम्तिमा पनि ५० करोड रुपैयाँ र निर्जिबन बीमा कम्पनीले कम्तिमा २५ करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नै पर्छ ।
समितिले बिदेशी बीमा कम्पनीका शाखालाई कस्तो ब्यवहार गर्ने भनेर पनि गृहकार्य गरिरहेको छ । नेपाल राष्ट्र बैंकले बिदेशी बैंकका शाखा कार्यालयहरुलाई गर्ने ब्यवहार हेरेर निष्कर्षमा पुग्ने तयारी बीमा समितिले गरेको थियो । तर नेपालमा बिदेशी बैंकका शाखा नभएकोले त्यो उपाए पनि उपयुक्त नदेखिएको बीमा समितिको भनाइ छ ।
बिदेशी बीमा कम्पनीका शाखा कार्यालयहरुलाई चुक्ता पूँजीको सीमा तोक्ने वा ब्यवसायको सीमा तोक्ने बारेमा समितिले अहिलेसम्म कुनै गृहकार्य गरेको छैन । यी बिषयमा पनि अहिले चर्चा भएको र यसैको लागि पनि अध्ययन थालिएको समितिको भनाइ छ ।
SHARE YOUR THOUGHTS