काठमाण्डौ । नेपाल हस्तकला महासंघको आयोजनामा लोपोन्मुख कलाकृतिहरूको जगेर्ना गर्ने उद्देश्यले आजदेखि काठमाडौँको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला शुरु भएको छ ।
१६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता मंसिर दुई गतेसम्म चल्नेछ । मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तु राखिएका छन् ।
स्वदेशी व्यवसायीले १५० बिक्री कक्ष तथा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश र भूटानका हस्तकला उद्यमीले २० वटा बिक्री कक्षमार्फत आ–आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्नेछन् ।
प्रदर्शनीमा मौलिक कलालाई विकसित प्रविधिको प्रयोग तथा हस्तकलाका विभिन्न आयाम र सिर्जनासम्बन्धी विषयमा अन्तरक्रिया गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गरिनेछ ।
यसैबीच, ललितपुर महानगरपालिकालाई विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरिएको छ। हस्ताकला व्यापार मेलाको अबसरमा विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरेको हो।
परिषद्की एशिया प्रशान्त क्षेत्रकी अध्यक्ष डा. घाडा हिजामी कडामीले ललितपुर महानगरपालिकालाई वल्र्ड क्राफ्ट सिटी घोषणाको पत्र उपलब्ध गराएकी हुन्। घोषणापत्र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुझेका छन्।
विश्वकला परिषद्ले अहिलेसम्म संसारका १५ वटा सिटीलाई वल्र्ड क्राफ्ट सिटीको रुपमा घोषणा गरेको छ। ललितपुर महानगरपालिका वल्र्र्ड क्राफ्ट सूचीमा पर्ने १६ शहर हो भने नेपालमा पहिलो शहर हो ।
SHARE YOUR THOUGHTS