उच्च आर्थिक बृद्धिका लागि पाँच क्षेत्रको लगानी महत्वपूर्ण हुने विश्व बैंकको सुझाव « Eglish Khabarhub

उच्च आर्थिक बृद्धिका लागि पाँच क्षेत्रको लगानी महत्वपूर्ण हुने विश्व बैंकको सुझाव



काठमाडौं । नेपालले उच्च आर्थिक बृद्धिका लागि पाँच क्षेत्रमा गरिने लगानी महत्वपूर्ण हुने सुझाव विश्व बैंकले दिएको छ ।

विश्व बैंक र अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) ले गरेको अध्ययनले नेपालको उच्च आर्थिक बृद्धिको लागि पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सूचना तथा प्रविधि क्षेत्रमा लगानी हुनुपर्ने निष्कर्ष निकालेको हो ।

विश्व बैंकले नेपालको ‘प्राइभेट सेक्टर डाइनोस्टिक’प्रतिवेदन सार्वजनिक गर्दै पाँच क्षेत्रमा हुने लगानी तुलनात्मक रुपमा लाभ भएको जनाएको छ ।

प्रतिवेदनले नेपालले निजी क्षेत्रको लगानी बढाउनको लागि गर्नुपर्ने कानूनी सुधारमा जोड दिएको छ । खासगरी कम्पनी ऐन,औद्योगिक व्यवसाय ऐन तथा बौद्धिक सम्पत्तिको अधिकारको कानून संसोधन हुनुपर्ने सुझाव अध्ययनको छ ।

‘लगानीका लागि भएका बाधाहरु हटाउन जरुरी छ,मुख्य गरेर नियमन,पूर्वाधारको विकास तथा संस्थागत तथा मानव संसाधनको विकासमा सरकारले ध्यान दिन जरुरी देखिएको छ,’आइएफसीका क्षेत्रिय उपाध्यक्ष निना स्टोइलजोभिकले भनिन् ।
पछिल्लो वर्षमा नेपालले गरीबी निवारणमा ठूलो सफलता हासिलक गरेको छ । तर,पछिल्लो २० वर्षमा दक्षिण एशियामा सबैभन्दा कम आर्थिक बृद्धिदर नेपालमा भएको छ । रेमिटेन्सको कारण गरीबी निवारण भएपनि यो चुनौतीपूर्ण रहेको भनाई विश्व बैंकको छ ।

रिपोर्ट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रसँग मिलेर नै सरकारले काम गर्ने बताए ।

‘आर्थिक बृद्धि तथा रेमिटेन्समा आश्रित अर्थतन्त्रबाट अर्कोमा लैजानको लागि निजी क्षेत्रको भूमिका हुन्छ,हामीले करका नीतिहरु सहज बनाउने तथा लगानीको वातावरण बनाउनका लागि गर्नुपर्ने कानूनी सुधारको काम गरिराखेका छौ,,’ अर्थमन्त्री खतिवडाले भने ।

विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष हार्टिङ स्यासरले नेपालको निजी क्षेत्रले स्वास्थ्य,प्रविधिको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
रिपोर्टमा नेपाल क्षेत्र क्षेत्रले भोगेको समस्या र सम्भावनाको विषयलाई औल्लाइएको छ ।

Publish on: